हिमाल जाने सरकारी सम्पर्क अधिकृतलाई तालिम दिइने

३ असोज, काठमाडौं । सरकारले हिमाल आरोहणमा सम्पर्क अधिकृतका रुपमा जाने सरकारी कर्मचारीलाई तालिम दिने भएको छ । लियाजो भनेर चिनिने कर्मचारीहरुलाई पहिलोपटक यसरी तालिम दिन लागिएको हो ।

बसन्त ऋतुमा हिमाल आरोहणका दौरान लियाजो अफिसरको निकै आलोचना भयो । सगरमाथामा अधिक दुर्घटनामा पर्वतारोहीले ज्यान गुमाए, तर सम्पर्क अधिकृत फिल्डमा भेटिएनन् । त्यसपछि सरकारले एक समिति नै बनाएर सगरमाथाबारे अध्ययन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ भदौमा सम्पर्क अधिकृतलाई तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सोही अनुसार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रतिष्ठानले संयुक्त रुपमा तालिम सञ्चालन गर्ने भएका छन् । आगामी ५ असोजबाट नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट तालीम सञ्चालन हुने छ ।

नाथमका अनुसार यस तालिममा राजपत्र अनङ्कित प्रथम श्रेणीदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीले भाग लिने भएका छन् । नाथमले १७ भदौबाट इच्छुक कर्मचारीबाट आवेदन माग गरेको थियो । तालिममा निजामति सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत कर्मचारीले समेत भाग लिन पाउने प्रावधान राखिएको थियो । त्यसबाहेक प्रवेशिका परीक्षा उत्तिर्ण भए पनि सगरमाथाको सफल आरोहण गरिसकेका कर्मचारीलाई समेत प्रतिष्ठानले तालीमका लागि योग्य ठानेको छ ।