प्रहरी चाैकी नजिकै गाँजा खेती

नजिकैकाे प्रहरी मुखदर्शक

जाजरकोटः कानुनले गाँजा, चरेस, अफीम लगायत लागुऔषधको उत्पादन, विक्री र ओसारपसारमा बन्देज लगाएको छ । प्रहरीले उक्त लागुऔषधको खेती फेला पारे तत्काल नष्ट गनर्सपर्ने हुन्छ । तर आफ्नै ढोका अगाडि गाँजा खेती हुँदा समेत एक प्रहरी चौकी भने रमिते बनेको छ । प्रहरी चौकी पाँचकाटीयाको आगनसँगै सटेको स्थानीयको जग्गामा अवैद्य लागु औषध गाँजा(चरेस) खेती भएको छ ।
पाचकाटीया गाँजा, चरेस, अफिम लगायत अबैद्य लागु औषध उत्पादन, विक्री र ओसार पसारका लागि मुख्य नाका पनि मानिन्छ । कुशे गाउपालिका ५, पाँचकाटीया स्थित प्रहरी चौकीले कार्यालयसँगै सटेको जग्गाको उक्त खेती समेत नष्ट गर्न सकेको छैन ।

प्रहरी चौकीको सिमाना जोडिएको ३ रोपनी जग्गामा गाँजा खेती छ । प्रहरी भने उक्त खेतीको उल्टो रक्षक जस्तो बन्न पुगेको छ । अबैद्य लागु औषधको उत्पादनमा संग्लग्नलाई कारबाही र गाजा नष्ट गर्नुको साटो प्रहरी नै गाजा खेतीको रक्षक बनेको स्थानीय देवी थापाले वताइन् । प्रहरी चौकी र गाँजा खेती भएको जग्गा १ सय मीटरको दुरीमा रहेको उनले वताइन् । डाडागाउ, कार्कीगाउ, भेरें, तिमिले, राङ्सी, सिल्पाचौर, चाल्ना, करुवा, टट्टा, चावलेचौर, गरी, डिम्रेनी, द्वारे, डिंगा, झाप्रा, रोकायगाउ, ध्यारगाउ लगायत ठाउको पाखोबारीमा स्थानीयले अबैध गाँजा खेती गर्ने गरेका छन् । गाँजाको बोटबाट चरेस बनाएर अवैध रुपमा विक्री वितरण हुने गरेको छ । समुद्र सतह देखि २ हजार मिटरको उचाईं आसपासका पाखोबारीमा गाँजाखेती हुने गरेको छ । यतिबेला गाजा खेतीको लायि उपयुक्त सिजन पनि हो ।


गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने खुल्न आएको छ । यहाँको प्रहरीले अवैद्य चरेस कारोबारी रोक्न गाँजा खेती नष्ट अभियान संचालन गर्न सकेको छैन । मकैबारी, कोदोबारी लगायतमा समेत गाजा खेती गरेको पाइएको छ । अन्नबाली भन्दा बढी आम्दानी हुने भएपछि गाँजाको खेती हुने गरेको हो । मलजल, सुरक्षा र मेहनेत नचाहिने तथा आम्दानी पनि बढी नै हुने भएकोले पाखोबारीमा गाँजा खेती हुने गरेको हो । गाँजाबाट उत्पादन भएको चरेस मात्र हैन अचार खाने भागों पनि विक्री हुने गर्दछ । कतिपयले गाँजा खेती अवैद्य हो भन्ने थाह नपाएर पनि उक्त खेती लगाउने गरेको थापाले बताइन् । पाँचकाटीयामा भएको गाजा खेती तत्काल नष्ट गरीने प्रहरी निरीक्षक केशर कार्कीले वताए । ‘जुन जुन ठाउमा गाँजा खेती छ, त्यो सबै नष्ट हुन्छ,’ उनले भने ।
त्यस्तै नलगाड नगरपालिकाका विभिन्न स्थानमा अफिम खेती पनि हुने गरेको छ । प्रहरीले गत बर्ष १५/२० रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको थियो । विगत ४/५ बर्ष अघिदेखि प्रहरीले अफिम खेती नष्ट गर्दै आएको छ । अफिम खेती नलगाडको दुर्गम गाउमा हुने गरेको छ । धेरै आम्दानी हुने भएपछि स्थानीयले उक्त खेती गर्ने गरेको निरीक्षक कार्कीले बताए । १ रोपनी जमिनमा लगाएको गहुँ खेतीबाट ५ हजार पनि नआउने तर अफिमबाट ८०/९० हजार आउने भएपछि किसानहरु त्यता लागेको उनले बताए । धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएको छ । १ रोपनी पाखोमा लगाएको खेतीबाट १ किलो अफिम उत्पदान हुने गरेको कार्कीले बताए । ‘लागु औषध कारोबारीले प्रति किलो अफिमको पाखोबारीमै पुगेर ८०/९० हजार मुल्यमा किन्ने गरेका छन् । अफिम खेती हिउदे सिजनमा हुने गरेको छ ।