नेपाल प्रहरीले बर्षेनी गाजा खेती मात्रै नष्ट गर्छ

तर कारबाही कसैलाई गर्दैन

जाजरकाेटः प्रहरीले स्थानीयको जग्गामा लगाएको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लगाएको गाँजा खेती नष्ट गरेको हो ।  प्रहरीले बारेकोटको वुढागाउँ, ध्यारगाउ, रोकायगाउ र नलगाडको चावलेचौर, टट्टा, करुवा लगायत गाउँमा पुगेर स्थानीय बासिन्दाले लगाएको गाँजा खेती फाँडेर नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय दल्ली,ईलाका प्रहरी कार्यालय रामिडाँडा,ईलाका प्रहरी कार्यालय नायकवाडा र  अस्थायी प्रहरी पोष्ट लिम्साको प्रहरी टोली गाउँगाउँ पसेर अवैध गाँजा खेती नष्ट गरेको हो ।

गाँजा नस्ट गर्दै नेपाल प्रहरी

पाँचकाटीया प्रहरी चौकीले साता अघि २ रोपनी जग्गामा लगाएको गाँजा नष्ट गरेको थियो । पाँचकाटीया प्रहरीले तिमिले, राङ्सी, दम्दाला, ढिमे लगायत गाउमा पनि गाजा खेती नष्ट गर्ने अभियान संचालन गरेको छ । बर्षेनी गाँजा खेती नष्ट गर्ने तर गाँजा खेती गर्ने ब्यक्तिलाई कुनै पनि कारवाही नहुदा यस जिल्लामा गाजा खेती फष्टाउने गरेको हो । गाँजाको बोटबाट चरेस बनाएर अवैध रुपमा विक्री वितरण हुने भएकोले गाँजा खेती नष्ट गरेको प्रहरी निरीक्षक केशर कार्कीले बताए । २ हजार मिटरको उचाईं आसपासका किसानले पाखोबारीमा गाँजाखेती गर्ने गरेको उनले बताए । प्रहरीको गस्ती टोलीको आखा नलाग्ने जंगल छेउको पाखोबारीमा उक्त खेती हुने गरेको छ । विशेष सुराकीका आधारमा गाँजा खेती नष्ट गरेको उनले बताए । गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने गरेका छन् ।

गाँजा नस्ट गर्दै नेपाल प्रहरी
गाँजा नस्ट गर्दै नेपाल प्रहरी

विभिन्न प्रहरी चौकी मार्फत अवैद्य चरेस कारोबारी रोक्न गाँजा खेती नष्ट अभियान संचालन गरेको उनले बताए । पहिलो पटक गाँजा खेती गर्नेलाई सामान्य चेतावनी पछि छाडेको उनले बताए । दोस्रो पटक सोही ब्यक्तिले उक्त खेती गरेमा कानुनी कारबाही गरीने उनले बताए । गाँजाको बोट भदौ, असोज र कार्तिक सम्म चरेस बनाउनका लागि परिपक्व हुनेगर्दछ ।

जाजरकोटमा चरेसको कारोबारी बढ्न थाले पछि गाँजा खेती नष्ट गर्न जरुरी भएको निरीक्षक कार्कीले बताए ।

जिल्लाका अन्य ठाउमा पनि भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरेको उनले बताए । विभिन्न ठाउमा गाजा खेती गरेको खबर आएको छ । ती स्थानमा पनि तत्काल गस्ती टोली खटाएर नष्ट गर्ने योजना रहेको कार्कीले बताए । यो जिल्लाका कतिपय गाउ चरेस उत्पादन केन्द्र नै बनेको उनले बताए । गाँजा अभियानलाई स्थानीय जनताले साथ दिएको उनको भनाई छ ।
जिल्लाको सिल्पाचौर, चाल्ना, करुवा, डाडागाउ, टट्टा, चावलेचौर, गरी, डिम्रेनी, द्वारे, डिंगा, राङ्सी, कार्कीगाउ, झाप्रा, रोकायगाउ, ध्यारगाउ लगायत ठाउ गाँजा खेतीको मुख्य केन्द्र नै मानिन्छ । मकैबारी, कोदोबारी लगायतमा समेत गाजा खेती हुने गरेको स्थानीय रामचन्द्र शर्माले वताए । गाँजाले अन्नबाली भन्दा बढी आम्दानी हुने भएपछि यसको खेती हुने गरेको शर्माले बताए । ‘मलजल, सुरक्षा र मेहनेत नचाहिने तथा आम्दानी पनि हुने भएकोले जंगलभित्रको खालीचौरमा लुकीछिपी गाँजा खेती हुने गरेको हो, उनले भने । कतिपयले गाँजा खेती अवैद्य हो भन्ने थाह नपाएर पनि उक्त खेती लगाउने गरेको उनले बताए ।  गत बर्षमात्रै  प्रहरीले १ सय रोपनी भन्दा बढि जग्गामा लगाएकाे गाजा खेती तष्ट गरेको थियो ।