कास्कीमा २२ उमेदवार, तीनवटा पार्टीले चुनावमा भाग लिन पाएनन्

पोखरा । कास्की २ को उपनिर्वाचनका तीनवटा दलले मनोनयन दर्ता गर्न पाएनन् । सबै प्रक्रिया पुर्‍याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय नागरिक पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पार्टीका उमेदवारहरु यत्तिकै फर्किन बाध्य भए । यी तीन पार्टीमध्ये संघीय लोकतान्त्रिकले गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीले नवराज घले र मुक्ति आन्दोलन नेपाल पार्टीले जयवन्त विक्रम शाहलाई उमेदवार बनाएका थियो । शाह कास्कीका नै हुन भने घले चितवन र लिम्बु तेह्रथुमका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यी तीनैजना उमेदवारहरुको मनोनयन दर्ता गर्न नमिलेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, कास्कीले उमेदवार मनोनयन नामावलीको कैफियतमा, “यी तीनै जनाको नाम समानुपातिकको बन्दसूचीमा नाम छ, सोहीकारण कम्प्युटर सिस्टममा प्रविष्टि भएको छैन्” भन्ने उल्लेख गरेको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले त्यसको पुष्टि गरे ।

कास्कीमा २२ जना उम्मेदवार

२५ जना उम्मेदवार इच्छुक देखिए पनि बीहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले २२ जना उमेदवारको मनोनयन सूची तयार गरेको छ । तीनजना उम्मेदवारहरुको नाम समानुपातिक सूचीमा भएकोले २२ जनामात्र उमेदवारको मनोनयन दर्ता भएको हो मनोनयन दिएकामध्ये ११ जना विभिन्न पार्टीसँग आवद्ध छन् भने बाँकी ११ स्वतन्त्र हुन् । उमेदवारी दर्ता गरेकामध्ये ६जना कास्कीभन्दा बाहिरका हुन् । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेदवार बनाएको छ । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले बिहान साढे १० बजे उमेदवारी दर्ता गराएकी हुन् । उनको उमेदवारीमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा प्रस्तावक र नेकपाको तर्फबाट प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक रहेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ । खेमराजको प्रस्तावकमा कांग्रेस नेता सोभियतबहादुर अधिकारी र समर्थकमा नेता देवराज चालिसे रहेका छन् । यी दुबै नेता खेमराजसँगै टिकटको दौडमा थिए । तर, अन्तिममा कांग्रेसले खेमराजलाई टिकट दिएको थियो ।

समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई उमेदवार बनाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, साझाले रजनी केसी, नेपाल कम्युनिष्ट पार्टी (माले) ले टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गंगा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना, नेपाली कांग्रेस (विपी) ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले उमेदवारी दिएका छन् । विवेकशील पार्टीले कास्कीमा पत्रकार सम्मेलन नै गरी उमेदवारी घोषणा गरे पनि पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दिन बाध्य भयो । सो पार्टीको तर्फबाट जमुना शर्मा उम्मेदवार बनेकी छन् । यसैगरी स्वतन्त्रमा उमानाथ गौतम, कमलजंग कुँवर,  दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसालले उमेदवारी दर्ता गरेका छन् ।

समर्थक र प्रस्तावक नपाएपछि उमेदवार बन्न पाएनन्

जनकपुरदेखि कास्कीको उपनिर्वाचनमा भाग लिन आएका एक डाक्टर समर्थक र प्रस्तावक नपाएकै कारण उमेदवारी दिन पाएनन् । जनकपुर १४ निवासी डा. कृष्णचन्द्र प्रसाद साहले अन्तिममा उमेदवारी नदिने घोषणा गरेका हुन् । उमेदवार बेजिल्ले भए पनि प्रस्तावक र समर्थक भने स्थानीय नै चाहिन्छ । स्थानीय समर्थक पाए पनि उनले प्रस्तावक भने भेटेनन् । “भेटेको पनि थिएँ तर उहाँहरु सर्तसहित आउनुभयो, म स्वतन्त्र उमेदवार सर्त स्वीकार्ने कुरा भएन,” उनले भने । उमेदवारी दर्तापछि बोल्दै सबै पार्टीका नेताहरुले आफ्नो विजय सुनिश्चित भएको दाबी गरे । तीमध्ये धेरैजसोले आफू एजेण्डाको लागि चुनावी मैदानमा होमिएको जिकिर पनि गरे । उम्मेदवारको दावी विरोधलगायतका प्रक्रियापछि कात्तिक २४ गते मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मनोनयन झिक्ने छुटको अधिकार पनि उम्मेदवारसँग रहेको छ ।