विदेशी निकायबाट सञ्चालित १५ वटा कलेज खारेज गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विदेशी निकायहरुबाट सम्बन्धन लिएका नेपालमा सञ्चालित १५ वटा शिक्षण संस्था खारेज गर्ने तयारी गरेको छ । बिहिबार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा नेपालको नीति र प्रणाली अनुसार तुरुन्तै खारेज गर्न मिल्ने भए पनि न्यायिक दृष्टिकोणले पहिलोपल्ट प्रक्रिया पूरा गर्न १५ दिनको समय दिइएका जनाएको हो । यदी त्यो समयमा प्रक्रिया पूरा नगरेमा खारेज गर्ने शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् ।

खारेज गर्न लागिएका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज  काठमाडौं, क्यापिटल कलेज काठमाडौं, एभेरेष्ट एजुकेशन काठमाडौं भ्याली काठमाडौं, पोलिगन कलेज काठमाडौं, एपेक्स लाइफ स्कुल, साउथ वेस्टन काठमाडौं, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेगा कलेज  बुटवल,  वेष्ट्रन विजनेश कलेज धनगढी र कसमस इन्टरनेशनल कलेज पोखरा रहेका छन् । “हाम्रो प्रणाली अटेरी गरेर सरकारले दिएको समय सीमाभन्दा बाहिर गएमा सरकार बाध्य भएर खारेज गर्ने निष्कर्षमा पग्नेछ,” शिक्षामन्त्री पोखरेलले भने, “नियम विपरित सञ्चालनमा आएका नवीकरण नगरेको र राजस्व समेत नतिरेका लगायत कमजोरी समेत देखिएको छ । ” मन्त्रालयका अनुसार ती कलेजहरुले करिब दुई वर्षदेखि नवीकरण नगरेको र राजस्वसमेत नतिरेका पाइएको जनाएको छ ।