जाजरकोटको दुर्गममा पुगे वेलायतीहरू-मौरी ब्यवशाय सिकाउन

विदेशीद्वारा कलपतको मह र मौरीको अवलोकन

जाजरकोटः लण्डनका एक नागरिक गत शुक्रवार नलगाड नगरपालिका १, कलपत गाउ पुगे । लण्डनका रुडी रेप्का मौरी र महको अध्ययन तथा अवलोलन गर्न दुर्गम गाउ कलपत पुगेका हुन् ।  ७३ बर्षीय रुडी वेलायतका मौरी पालनका उत्कृष्ट व्यवशायी हुन् । उनले कलपत पुगेका बिभिन्न प्रजातिका रैथाने मौरीको बासस्थान, महको गुणस्तरको अध्ययन तथा अवलोकनका साथै मौरी पालक कृषकलाई अनुशिक्षण समेत गरेका छन् । रुडीका साथै उनकी पत्नि लिडिया अनियला रेप्काले पनि कल्पत पुगेर मौरीपालक किसानसंग अन्तरक्रिया समेत गरेका छन् । विगत ३५ बर्षदेखि बेलायतमा सफल मौरी व्यवसायी बनेको रुडीको जोडीले नलगाड नगरपालिकाको मह जोनको रुपमा परिचत कल्पत, पाली, चिउरी लगायत गाउका ५ दर्जन किसानसँग मौरी र महका विषयमा छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

मौरी बिज्ञ समेत रहेका रुडीले मौरी पालन शिक्षा, मह र मौरीको निरिक्षण प्रणालीको व्यवस्था तथा बिकास, मह निकाल्ने तरिका, महमा हुने पानीको मात्रा व्यवस्थापन गर्ने तरिका, मह खरिद तथा विक्रीको अभिलेखि व्यवस्थापन, मह प्रशोधन विधि, मह भण्डारणमा तापक्रमको व्यवस्थापन, मुल्य निर्धारण, मह लेवलिङ्ग गर्ने तरिका, रानी मौरी उत्पादन गर्ने तरिकाका बिषयमा अन्तरक्रिया गर । बेलायतमा मह उत्पादन गरेर विश्व पुरस्कार जित्न सफल भएको रुडीले बताए ।
रुडीले लण्डनमा मेलिफेरा प्रजातिको मौरी पालन उद्योग संचालन गरेका छन् । उनले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको बास स्थान तथा महको अवलोकन गरे । नलगाडको पाली र कलपत सेराना मौरी, कठ्यौरी र पुतुका मौरीको उपयुक्त बास स्थान भएको उनले वताए । कल्पतको पारस्थितीय प्रणाली सन्तुलित रहेको मौरी विज्ञ रुडीले बताए । विश्वका अन्य देशबाट पनि पाली, कल्पत लगायत स्थानमा रहेका मौरीको अध्ययन तथा अवलोकन गर्न आउने रुडीको भनाई छ । मौरीमैत्री बाताबरणका लागि कठ्यौरी, पुतुका र भीर प्रजातिको मौरी संरक्षणमा जोड दिनुपर्ने उनले वताए । पाली र कल्पतमा रैथाने प्रजाति अन्र्तगतको सेराना मौरी पालन गरेका किसानले रानी मौरी उत्पादन गर्ने सिप सिक्न आवश्यक परेमा अर्कोपटक कल्पतमै आएर तालिम दिने उनले बताए । नलगाड नगरपलिकाले मौरी विज्ञ रुडी रेप्काद्वारा कल्पत र पालीका अगुवा किसानलाई रानी मौरी उत्पादन सम्बन्धि तालिम दिने व्यवस्था मिलाउने नगर प्रमुख टेकबहादुर रावलले बताए ।


अन्तराष्ट्रिय बजारको मापदण्ड पुरा गर्न सकेमा महको बजारीकरणमा कुनै समस्या नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग अन्तरगतको किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारीले बताए । मौरी पालन व्यवसायले किसानहरुको कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउन सहयोग पुग्ने बिज्ञ अधिकारीले वताए । ‘मौरीको परागसेचनले बाली उत्पादन र उत्पादकत्वमा बृद्धि गर्छ,’ उनले भने । आधुनिक मौरी पालन व्यवसाय अन्र्तगत मह, मैन, शाही खुराक, कुट, खोटो, प्याकेज, मौरीगोला लगायत उपजको उत्पादन, महको गुणस्तर, मुल्य श्रृङखला तथा बजार व्यवस्थापन र मौरी पालनका लागि संस्थागत बिकास महत्वपुर्ण हुन्छन् । कल्पतका स्थानीयले विदेशी मौरी व्यवशायीसंगको अन्तरक्रिया कार्यक्रममा मौरी पालन व्यवसायबाट हासिल गरेका अनुभव, समस्या र चुनौती बारे चर्चा गरेका थिए । कार्यक्रममा केन्द्रका प्रमुख अधिकारी, नगरप्रमुख रावल लगायतको सहभागिता थियो ।