काठमाडौंको तापक्रम आज केही बढ्यो

हिजो (शनिबार)को तुलनामा आज (आइतबार) काठमाडौं उपत्यकाको तापक्रम केही बढेको छ। मौसम पूर्वाुनमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज हिजोको तुलनामा उपत्यकाको न्यूनतम तापक्रम ०.४ डिग्री बढेको हो। हिजो काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो भने आज थोरै बढेर १ डिग्रीमा उक्लिएको हो। यो अघि बिहान साढे ६ बजे गरिएको मापन हो। ‘यो एकदमै थोरै मात्रा हो, यस्तो घटबढ सामान्य हो,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पुनः पौने ९ बजे मापन गरिनेछ। अन्तर्राष्ट्रिय समयअनुसार यही समयको मापनलाई आजको वास्तविक न्यूनतम तापक्रम मानिन्छ। ‘८ः४५ मा मापन गर्दा केही प्वइन्ट तलमाथि पर्न सक्छ,’ मौसमविद् श्रेष्ठले भने।

याे पनि : काठमाडौंमा आज यस वर्षकै चिसो

उनका अनुसार अहिले देशका सबैजसो तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। जसले जनजीवन कष्टकर बनाइरहेको छ। यस्तै पोखरादेखि पूर्व तथा काठमाडौं उपत्यकामा पनि अहिले बिहान हुस्सु/कुहिरो लागेको छ। तर यो घाम लागेसँगै हटेर जाने मौसमविद् श्रेष्ठले बताए। अहिले पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ।