नेकपाले दुई गाउँपालिका खोस्यो, कांग्रेसले प्रदेश सभा र उपमहानगरपालिका

शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम आएको छ। देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर,  ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि  भएको चुनावमा मुख्य प्रतिष्पर्धा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको छ। उनीहरूबीच प्रतिष्पर्धामात्र होइन सिट खोसाखोस पनि भएको छ। त्यसमा कांग्रेसले नेकपाबाट महत्वपूर्ण सिट खोस्न सफल भएको छ। कांग्रेसले भक्तपुर प्रदेश सभा र धरान उपमहानगरपालिकामा नेकपाबाट खोसेको छ। त्यसमा पनि धरान उपमहानगरको नेतृत्व हात पार्नु कांग्रेसका लागि ऐतिहासिक उपलब्धी भएको छ किनकी बहुदल आएपछिका २९ वर्षमा कांग्रेसले पहिलो पटक धरानमा जित निकालेको हो।

गाउँपालिका तहमा भने नेकपाले अरूबाट सिट खोसेको छ। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको छ। दुई वर्षअघिको चुनावमा त्यहाँ राष्ट्रिय जनता पार्टीले चुनाव जितेको छ। त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पनि नेकपाले जितेको छ। यो गाउँपालिका उसले नेपाली कांग्रेसबाट खोसेको हो। नेकपाले एक गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसबाट आफ्नो पोल्टामा पारेको छ। हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्ष  पहिला कांग्रेसले जितेको थियो। यसपालि नेकपाले जितेको छ। वडाअध्यक्षमा भने नेकपाले २०७४ को स्थानीय चुनावभन्दा २ सिट बढाएको छ। उसले कांग्रेसबाट सात वडाध्यक्ष खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफूतिर तानेको छ।

हेर्नुस् कहाँ कसले जिते?

१. बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्।

२. कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।

३. बाजुराको त्रिवेणी-१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

४. अछामको मल्लेख गाउँपालिका- ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।

५.बाँके कोहलपुर-६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

६.सल्यानको कुमाख गाउँपालिका- ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।

७. रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

८. घोराही उपमहानगर- १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

९. प्युठान नगरपालिका- २ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्।

१०. अर्घाखाँचीको मालारानी-३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।

११. लमजुङको सुन्दरबजार नगरपालिका- २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

१२. बर्दघाट-५ मा नेकपाका  खिमबहादुर थापा विजयी भएका छन्।

१३. चितवनको भरतपुर-१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

१४. पर्साको सखुवा पर्सौनी गाउँपालिका- ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।

१५. बारागढी गाउँपालिका- १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

१६. रौतहटको गढीमाई- २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।

१७. काठमाडौंको दक्षिणकाली- ३ मा नेकपाका शिवभक्ति बलामी  निर्वाचित भएका छन्।

१८. धुलिखेल-२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।

१९. महोत्तरीको बलवा- २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्।

२०. रामेछापको उमाकुण्ड- ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।

२१. खोटाङको साकेला- ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्।

२२. खाँदबारी-३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्।

२३. मोरङको धनपालथान-२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।

२४.  बैतडीमा दोगडाकेदार- ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्।  यहाँ पहिला नेकपाले जितेको थियो।

२५. बैतडीको सुर्नया- १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

२६. कपिलवस्तुको शिवराज-१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले  जितेका थिए।

२७. गुल्मीको रूरू-६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्।

२८. नवलपरासी पूर्वको बौदीकाली- ५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।

२९. चितवनको खैरहनी- ४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्।

३०. चितवनको खैरहनी-५  कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।

३१. सप्तरी छिन्नमस्ता- ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

३२. सर्लाहीको हरिपूर्वा- १ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

३३. सिरहाको कल्याणपुर-१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए।

३४. पाँचथरको हिलिहाङ-७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।

३५.पाँचथर फिदिम- १ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्।  यहाँ पहिला कांग्रेसले जितेको थियो।

३६. सिन्धुपाल्चोकको इन्द्रावती- ८मा नेकपाका केदारनाथ आचार्य  विजयी भएका छन्।

३७. बाग्लुङको बढीगाड-२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्।

३८. डोटीको आदर्श-२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।

३९. महोत्तरीको मटहानीमा- ६ मा राजपाका मोहम्मद जकिर अन्सारी  विजयी भएका छन्।

४०. भोजपुरको पौवादुंमा- १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

४१. प्युठानको ऐरावती गाउँपालिका-१ को वडाअध्यक्षमा मा नेपाल कम्युनिस्ट पार्टी का उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्।

४२. ऐरावती-२ मा भने स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन्। भीमेशकुमार घर्ती मगर नेकपाका स्थानीय नेता हुन्। उनले बागी उम्मेदवारी दिएका थिए।

४३. धरान-७  नेकपाका जीवन सुवेदीले जित हात पारेका छन्। उनले एक मतले जितेका हुन्।

४४.कास्की- २ प्रतिनिधि सभामा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्।

४५. संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन्।

४६. महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।

४७. भक्तपुर प्रतिनिधि सभा १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका कृष्ण भडेलले जित हात पारेका छन्।  यहाँ पहिला नेकपाले जितेको थियो।

४८. बाग्लुङको प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले जित हात पारेका छन्।

४९. दाङ प्रतिनिधि सभा ३ को प्रदेश सभा (ख) मा नेकपाक विमलाकुमारी खत्री(वली) विजयी भएकी छन्।

५०. हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रूपा शाही विजयी भएकी छन्। दुई वर्षअघि यहाँ कांग्रेसले जितेको थियो।

५१.  पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। २०७४ सालमा यो गाउँपालिका कांग्रेसले  जितेको थियो।

५२.सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्। दुई वर्षअघि यहाँ नेकपाले जितेको थियो।