माटोले पुरिएर पाँच जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा

सल्यानः बागचौर नगरपालिका–४ शिवरथस्थित पेदिखोला र सिमखोलीबाट मजदुरीका लागि गएका पाँच जनाको पोखराको मौजामा सडकमा काम गर्ने क्रममा मृत्यु भएपछि दुवै गाउँ शोक मग्न भएको छ । मृत्युको खबर पाउने बित्तिकै पाँचैका परिवार अचेत अवस्थामा रहेको स्थानीय हरिकिरण बस्नेतले बताए। ‘पोखराको घटनाका कारण बिहानदेखि अहिलेसम्म गाउँघरका पुरुष महिलाहरु उनीहरुलाई सम्झाउन र सहयोग गर्नमा जुटेका छन्।,’ उनले भने। मजदुरी गर्न गएका सात जनामध्ये पेदिखोलाका तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी, खिमलाल बस्नेत, सिमखोलीका जीतबहादुर बस्नेत र गणेश ओली रहेका छन्। पोखरा महानगरपालिकाको कनेक्टिभिटी सडक निर्माणको काम गर्न गएका ती सातमध्ये दुई घाइते भएका छन्।आर्थिक अभावका कारण परिवार पाल्न समस्या भएपछि १८ दिनअघि मात्र पेदिखोला र सिमखोलीका  सातजना छिमेकी गाउँका स्थानीयसँग सडकमा काम गर्न पोखरा गएको बस्नेतले बताए।