ओलीले राष्ट्रियसभा उमेदवारको नाम एकलौटी ल्याएपछि नेकपामा विवाद

सचिवालय बैठक शुक्रबार बिहान फेरि बस्ने

राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

“राष्ट्रियसभा निर्वाचनमा दुईजना राजपालाई दिने यसअघि नै सहमति भएको छ,”सचिवालयका एकजना सदस्यले बैठकपछि भने, “बाँकी १६ जनाको नाम अध्यक्ष ओलीले आफू निकटका मात्रै लिएर आउनुभएको थियो । त्यसमा सदस्यहरुको विरोध रह्यो । विरोध भएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।” उमेदवारको टुंगो लगाउन सचिवालय बैठक बिहीबार चारघण्टा बसेको थियो ।