कमजोर भयो पश्चिमी वायु, आजदेखि घाम लाग्ने

पश्चिमी वायुको प्रभाव हटेपछि आइतबारदेखि देशका पहाडी भू-भागमा घाम लाग्ने भएको छ। गत बिहीबारदेखि पश्चिमी वायुको प्रणालीले देशभरको मौसम प्रभावित भएको थियो। हिमाली र उच्च  पहाडी क्षेत्रमा हिमपात भएको थियो भने बाँकी ठाउँमा मध्यमस्तरको वर्षा भएको थियो। ‘आइतबारदेखि त्यो प्रणालीको प्रभाव हटेको छ। अहिले बिहान कुनै ठाउँमा कुहिरो र अलिकति बादल लागेको भए पनि दिउँसो राम्ररी नै घाम लाग्छ। सोमबार पनि मौसम सफा रहनेछ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्।

देशका पश्चिमी क्षेत्रमा भने शनिबारदेखि नै घाम लागेको थियो। मानन्धरका अनुसार यो साताको अन्त्यतिर पनि पश्चिमी वायुको प्रणाली फेरि आउने सम्भावना छ। ‘अहिल्यै भन्न सकिन्न डाइभर्ट पनि हुन सक्छ,’ उनले भनिन्। शनिबार काठमाडौं उपत्यकामा १.५ मिलिलिटर वर्षा भएको छ भने न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस र उच्चतम तापक्रम १३.२ डिग्री सेल्सियस मापन भएको छ। ‘न्यूनतम तापक्रम अलि बढे पनि उच्चतम तापक्रम घट्ने भएकाले अब बढी जाडो हुन्छ,’ मौसमविद् मानन्धरले भनिन्। वर्षापछि तराईभरि कुहिरो लागेको छ। आइतबार बिहान भैरहवामा भिजिविलिटी ५० मिटरमात्र छ भने नेपालगञ्जमा १००, विराटनगरमा ६०० मिटर छ। भिजिविलिटी कम हुँदा यी शहरहरूमा हवाइ सेवा प्रभावित हुन्छ। तराई क्षेत्रमा बिहानदेखि लागेको कुहिरो मध्यान्हपछि हट्दै जाने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पुस २०  गते (आइतबार)

दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २१  गते (सोमबार)

दिउँसो : देशको उच्च हिमाली भू-भागहरूमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पहाडी भू-भागलगायत उच्च हिमाली भू-भागहरूमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २२  गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।