इखले जितेको स्वर्ण, लक्ष्य ओलम्पिक

काठमाडौं । नेपाली समाजमा “विष नभएको सर्प र इख नभएको मान्छे, केही काम लाग्दैन,” भन्ने उखान प्रचलित छ । तेक्वान्दोका स्वर्ण पदक विजेता खेलाडी वीरबहादुर महरालाई यो उखानले कहीं कतै छोएको पक्कै छ । सन् २०१६ मा स्वर्ण जित्ने अफगानिस्तानका खेलाडी अहमद अलि बक्सीले सपना नचुडाइदिएको भए वीर सायदै यो स्वर्णिम पलमा पुग्दैनथे होला ।

त्यो बेला मनभरि उब्जिएको इखले नै ३ वर्षपछि घरेलु मैदानमा उनले स्वर्णपदक जिते । ‘अहिले पनि लाग्छ त्यो बेला मनमा इख नबोकेको भए यात्रा डगमगाउन सक्थ्यो ।’ स्वर्ण जित्ने हुटहुटीले मिहिनेत गर्दा वीर अहिले स्वर्णधारी खेलाडीका रूपमा परिचित भएका छन् ।

उनले मंसिर २५ गते काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोतर्फ ६८ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । पाकिस्तानका खेलाडी मुहम्मद फहिमलाई हराउँदै स्वर्ण जितेका वीर १२ औं सागका रजत पदक जितेका हुन् ।

भारतको गुवाहाटीमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा डेब्यु गरेका वीर त्यतिबेलै स्वर्ण जित्न चाहन्थे । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताको खासै अनुभव नभएका कारण उनी अफगानिस्तानका खेलाडी बक्सीसँग पराजित भए । त्यो बेला उनले ६३ केजीतौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

रजत पदकसँगै नयाँ संकल्प लिएर फर्किएका उनले अन्ततः आफूलाई प्रमाणित गरे । भन्छन्, “त्यो बेला हार्दाको पीडाले निकै पोलेको थियो । मनमा इख थियो । जसरी पनि जित्नुपर्छ भनेर । बिस्तारै प्रदर्शनमा सुधार गर्न सकें । पहिलो प्रतियोगिता भएर टेक्निकहरू थाहा थिएन । पछि सबै सिक्ने अवसर मिल्यो ।”

घरेलु मैदानमा पाकिस्तानका खेलाडी मुहम्मद फहिमलाई घुँडा टेकाउँदै वीर तेवान्दोतर्फ स्वर्ण जित्ने १२ मध्ये एक खेलाडी बने । वैदेसिक एक्सपोजर र प्रशिक्षणमा लामो समय व्यतीत गर्न पाउँदा स्वर्ण जित्न सकेको बताएका वीर भन्छन्, “उच्च मनोबलका साथ खेलें । ३ वर्षअघि हारेको मेडल जित्नु छ भनेर खेलेको थिएँ । घरेलु दर्शक र आफ्नै रिङमा खेल्दा अन्ततः २०१६ मा हारेको मेडल फिर्ता लिन सकें ।”

फाइनलमा पाकिस्तानलाई हराउनुसँगै सेमिफाइनलमा भारतका खेलाडी पृत्थीराज चौहानमाथि जित निकाल्दा वीर निकै हर्षित भएका थिए । “टाइसिट हेर्दा भारतसँग मेरो खेल देखें । सबैले मुख्य प्रतिद्वन्द्वी भारत नै सोच्छन्, मैले जोसँग खेले पनि १ नम्बरमा आउने हो सोचें । फाइनल सम्झेर खेल्दा जित निकाले । निकै खुसी लाग्यो,’’ उनले भने ।

स्वर्ण जितेसँगै उनलाई भ्याइनभ्याइ छ । सम्मानसँगै विभिन्न मिडियामा अन्तवार्ता दिइरहेका छन् । चर्चाले पनि खेलाडीलाई आत्मविश्वासी बनाउने उनी बताउँछन् । “२०१६ मा रजत जित्दा खासै चर्चा भएन । जित्यो आयो सकियो । तर, अहिले सबैतिर सम्मान पाइरहेको छु । अन्तरवार्ता दिइरहेको छु, वीरले थपे, ‘‘यो जितले आगामी दिनका लागि अझै उत्साही बनाएको छ ।’’

कञ्चनपुरदेखि स्वर्णसम्मको यात्रा 

२४ वर्षअघि कञ्चनपुरको साविक रैकवार विचवा गाविस ८ राजघाटमा जन्मिएका वीर रमाइलोका लागि कहिले कसो फुटबल खेल्न जान्थे । सामान्य परिवारमा हुर्किएका उनलाई खेल र खेलाडीका बारेमा जानकारी नै थिएन । गाउँमा धेरै युवा जम्मा हुनेबित्तिकै फुटबल खेल्न कुदिहाल्थें । फुटबल प्रतिको मोह बढिरहेका बेला स्थानीय लोकबहादुर महराले तेक्वान्दो सिकाउन थालेपछि वीरको मोेह तेक्वान्दोतर्फ मोडियो ।

उनी सुरुआति दिन सम्झिँदै भन्छन्, “सामान्य परिवारमा जन्मिएको त्यो पनि अलि विकट ठाउँमा । स्कुल छुट्टी हुने बित्तिकै केटाहरू जम्मा भएर फुटबल खेल्न जाने । पछि लोक दाइले तेक्वान्दो खेलाउन सुरु गर्नुभयो । नजानिँदै म पनि त्यता लागें ।”

फुटबल भए फुटबल नभए तेक्वान्दो खेल्न जाने उनी पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा भर्खरै तेक्वान्दो बुझिरहेका थिए । त्यो बेला उनी जिल्ला छनोटबाट नै बाहिरिए । त्यसपछि सुदूरपश्चिममा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भए ।

“खेलबारे मैले त्यति धेरै बुझेकै थिइन । गाउँबाट आएको, खेलको महत्त्व पनि थाहा थिएनँ । खेल अवधिभर रमाइलो हुन्थ्यो । सकिएपछि घर गयो पुरानै अवस्था,’’ उनले भने । छैटौं राष्ट्रिय प्रतियोगिताबाट खेलकुद के भनेर बुझेका उनको तेक्वान्दो यात्रा तिब्र गतिमा बढ्यो । लगत्तै पोखरामा आयोजना भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भए ।

त्यही प्रतियोगिता उनको जीवनका  लागि टर्निङ प्वाइन्ट बन्यो । उनले उक्त प्रतियोगितामा नाम चलेका राष्ट्रिय खेलाडी रोहित तामाङलाई हराएका थिए । त्यसपछि सबैको नजरमा परेका उनलाई नेपाल पुलिसमा आबद्धताका लागि अवसर आयो ।

वीर भन्छन्, “त्यो बेला लक्ष्मण ऐर सरले मेरो खेल हेर्नुभएको रहेछ । यो केटाले अवसर पाए केही गर्न सक्छ भनेर मेरो गुरुलाई सम्पर्क गर्नुभएछ । म गाउँ गइसकेको थिएँ । ७० सालमा पुलिसमा भर्ना खुल्यो  । निवेदन दिएँ  । छनोट पनि भएँ ।’’

पुलिसमा आबद्ध भएपछि नियमित अभ्यास गर्ने अवसर पाएका उनले आफूलाई निखार्दै लगे । त्यसपछि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिते । सातौंबाट पदक जित्ने क्रम सुरु गरेका उनी अहिलेसम्म रोकिएका छैनन् । वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण जितेका थिए ।

मोहनासँगको संर्घष 

तेक्वान्दोको नियमित अभ्यासका लागि वीरलाई धनगढी वा महेन्द्रनगर जानुपथ्र्यो । महेन्द्रनगर जाँदा लामो यात्रा तय गर्नुपथ्र्यो । मोहना नदीमा पौडिँदै गए धनगढी छिट्टै पुगिन्थ्यो । उनले त्यसै गरे । कञ्चनपुरको साविक रैकवार विचवा गाविस ८ राजघाटबाट कैलालीको धनगढी जाँदा बीचमा पर्छ मोहना नदी ।

बर्खाको समयमा मोहनामा उर्लिदो भेला आउँथ्यो । तर, पनि वीर रोकिएनन् । उल्लर्दो भेलमाथि पौडिँदै अभ्यास गर्न जान्थें । हिउँदमा काठे पुल बनाइन्थ्यो । आफ्ना सङ्घर्षका दिन सम्झिँदै उनले भने, “नदी तरेर जानुपर्ने । कहिले राती हुन्थ्यो । तर, पनि दुःख गरेर जान्थें । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । बिना डाइट पनि अभ्यास गरें ।”

घरको काम एकातिर अभ्यास अर्कोतिर, तर पनि वीरले आफ्नो इच्छालाई मारेनन् । घरको काम सकेर भए पनि अभ्यासलाई निरन्तरता दिन्थे । त्यो क्रममा उनले पढाइलाई पनि निरन्तरता दिन सकेनन् । एसएलएसीसम्म मात्रै गरे ।

२०७० सालमा पुलिसमा आबद्ध भएपछि उनको खेल जीवन सहज भएको बताउने वीर, संघर्षले नै अहिले स्वर्ण पदकको हकदार बनाएको गर्व गर्छन् ।

एसियाडमा मिलेको खुसी 

इन्डोनेसियाको जाकर्तामा २०७५ भदौमा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालबाट डेढ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दा तेक्वान्दोबाट सहभागी हुनेमा वीर पनि एक थिए ।

एसियाडकै लागि कोरियामा ३ महिने प्रशिक्षण गर्दा हात भाँचिएपछि अभ्यासमा अवरोध आए पनि उनी सिधै जाकर्ता गएका थिए । त्यो बेला उत्कृष्ट प्रदर्शनसँगै विदेशी खेलाडीबाट नयाँ अनुभव लिएर फर्किने लक्ष्य उनको थियो । उनले खुसी लिएर फर्किए । खुसी यसकारण जसलाई १२ औं सागको फाइनलमा स्वर्ण पदक सुम्पिएका थिए । उसैलाई हराउने मौका पाए ।

“फस्ट फाइट नै अफगानिस्तानका खेलाडीसँग भयो । जोसँग म १२ औं सागमा हारेको थिएँ । दीपक गुरुले हौसला दिनुभयो । तँ सक्छस् भन्नुभयो । नभन्दै मैले जितें । निकै खुसी लाग्योे । अनुभव भएको भए १२ औं सागमा पनि जित्न सक्ने रहेछु,’’ वीरले भने ।

लक्ष्य ओलम्पिक

हरेक खेलाडीको चाहना हुन्छ ओलम्पिक खेलकुदमा सहभागी हुने । कतिलाई त्यो अवसर मिल्छ कतिलाई जुर्दैन । स्वर्णधारी वीरलाई पनि ओलम्पिक खेल्ने इच्छा छ ।

त्यही भएर ओलम्पिक खेल्ने रहर बोकेर नयाँ चुनौतीका लागि तयारी गरिरहेका छन् । २०२० ओलम्पिक जुलाई २० देखि जापानको टोकियोमा हुँदैछ । टोकियो ओलम्पिकलाई केन्द्रित गर्दै वीर बिहान बेलुका २–२ घण्टा कोरियन प्रशिक्षकको प्रशिक्षणमा छन् ।

ओलम्पिकका लागि अप्रिलमा छनोट हुनेछ । वीर छनोटमा सफल भई ओलम्पिक खेल्न चाहन्छन् । भन्छन्, “धेरै मिहिनेत गरिरहेको छु । सागको स्वर्णपछि मलाई ओलम्पिक खेल्ने रहर जागेको छ । अप्रिलको छनोटपछि ओलम्पिकमा पदक जित्ने कोसिस हुनेछ ।”