रारामा भित्रिए विदेशी चरा

रेडपाण्डा बढ्दै

रारामा विभिन्न प्रजातिका चरा भित्रिने क्रम बढेको छ । बर्सेनि हिउँदको समयमा युरोप, चीन, साइबेरिया, भारतलगायत स्थानबाट विभिन्न प्रजातिका चरा रारामा आउने गरेका छन् । यस वर्ष कमकुट, बाटरफल्व, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोया हाँस र कर्‍याङकुरुङलगायत २० प्रजातिका विदेशी चरा रारा आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अहिले रारामा ४९ प्रजातिका चरा छन् । ती चराहरू गर्मी महिना सुरु भएसँगै साइबेरिया, युरोप, मंगोलिया, मानसरोवरलगायत क्षेत्रमा फर्कन्छन् । मौसमी चराका कारण अहिले रारा क्षेत्र मनमोहक बनेको निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । उनका अनुसार विदेशी र आन्तरिक चराका कारण राराताल चरामय बनेको छ ।

मंसिरमै हिमपात सुरु भएकाले यस पटक रारामा धेरै पाहुना चरा आएको उनले जनाए । पुस–माघको कठ्यांग्रिदो जाडोमा पनि रारा तालको पानी तातो हुने र पर्याप्त आहरा पाइने भएकोले विदेशी चरा यहाँ आउने गरेको उनले जानकारी दिए । ‘चराले उफ्रिँदै हिउँ खेलेको दृश्य हेर्दा पर्यटक रमाउँछन्,’ उनले भने, ‘मिलिचौर, ठाकुरज्यूला, ओखरबोट, निजारलगायत क्षेत्र पनि चराले भरिएका छन् ।’ उनले खोया हाँस, कपनकुटलगायत जलचर चराका कारण राराको सौन्दर्य बढेको सुनाए । आहारा खोज्न ताल मिसिएका स–साना खोलातिर पानीजन्य चराको घुइँचो हुन थालेको निकुञ्जका कर्मचारीको भनाइ छ । पानीसम्बन्धी चरा राति बास बस्न ताल नजिकका ढुंगेओडारमा आउने गरेका छन् । पाहुना चरा आहारा खोज्न मुर्मा, झयारी, माथि तुम, ताल्चालगायत बस्तीसम्म पुग्ने गरेको स्थानीयले जनाए । चिसोले गर्दा रारामा पर्यटकको संख्या भने घटेको हुटुस्थित भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले सुनाए । यसैबीच, नेपाल पंक्षी संरक्षण संघबाट खटिएको ३ सदस्यीय विशेषज्ञ टोली रारामा फिरन्ते चराबारे अनुसन्धान गरेर फर्किएको छ । यसपल्ट रारामा १ सय ४ वटा प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ ।

अनुसन्धानको क्रममा कल हाँस, खोया हाँस, खडखडे हाँस, हरियो टाउके, सुनजुरे, कैलो टाउके, कालीजुरे र मणीतुण्डकलगायत चरा भेटिएको चरा विशेषज्ञ मोहनविक्रम श्रेष्ठले बताए । ‘चरालाई जलवायु परिवर्तनले पारेको असरबारे थाहा पाउन अनुसन्धान गरिएको हो,’ उनले भने, ‘४ पटक अनुसन्धान गरेपछि मात्र चराबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछौं ।’ उनका अनुसार यो पहिलो अनुसन्धान हो । रारामा अन्य फिरन्ते चराको तुलनामा खोया हाँसको संख्या बढी पाइएको टोलीले जनाएको छ । उक्त प्रजातिको हाँस पनि रारामा पाहुनाको रुपमा आउने र गर्मी बढेपछि आफ्नै बासस्थानमा फर्किने गरेको पत्ता लागेको चराविज्ञ श्रेष्ठले जानकारी दिए । मौसम अनुसार चराको अनुसन्धान गर्ने संघको योजना छ । चिसो छल्न रारामा उच्च हिमाली भेगका वन्यजन्तुसमेत आउने गरेका छन् । ऋणीमोक्ष, छायानाथ, रोवा, सोभा लेक, कालाकाडालेकलगायत क्षेत्रबाट घोरल, मृग र कस्तुरीलगायत वन्यजन्तु रारामा आउने गरेका छन ।

रेडपाण्डा बढ्दै

रारा क्षेत्रमा लोपोमुन्ख वन्यजन्तु रेडपाण्डको संख्या बढ्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार रारा केही वर्षयता रेडपाण्डाको प्रमुख बासस्थान बन्न थालेको हो । संरक्षण अधिकृत भण्डारीका अनुसार गणना हुन नसके पनि रारामा रेडपाण्डाको संख्या बढिरहेको छ । भौगोलिक र वातावरणीय हिसाबले रेडपाण्डाको निम्ति रारा उपयुक्त मानिएको अनुसन्धानले देखाएको उनले जानकारी दिए । मुर्माटप, चुचुमारे, रुमखोला माझघट्टलगायत निकुञ्ज क्षेत्रमा रेडपाण्डा बस्ने गरेको उनले जनाए । निकुञ्ज क्षेत्रका निगालो र रुखको टोड्कामा रेडपाण्डाको बासस्थान रहेको उनले बताए ।