समान्ता टोल बिकास संस्थाद्धारा घाेरेटो बाटो निर्माण

बजेट बिनै काम गर्दछन टोल बिकास संस्था

जाजरकोट भेरी नगरपालिका–३ स्यालामा रहेको समान्ता टोल बिकास संस्थाले साढी एक किलो मिटर घोरेटोबाटो निर्माण गरेको छ । जनश्रमदानद्धारा समान्ता टोल बिकास संस्थाले साढी एक किलो मिटर घोरेटोबाटो निर्माण गरेको हो । ७० जना भन्दा बढीको श्रमदानबाट साढी एक किलोमिटर घोरेटोबाटो निर्माण गरिएको समान्ता टोल बिकास संस्थाका अध्यक्ष पदमराज बिश्वकर्माले जानकारी दिए । श्रमदान मार्फत साढी एक किलोमिटर घोरेटोबाटो निर्माण गरेपछि राङसी, पोखरा, डिङगा, दारा, रिसाङका मान्छेहरुलाई कालेगाउँको शिवालयसम्म जान आउन सजिलो भएको छ अध्यक्ष विश्वकर्माले भने–‘पहिले डोरेटोबाटो थियो, अहिले हामीले घोरेटो बाटो निर्माण गरेपछि मान्छेलाई आउन जान सजिलो भएको छ ।’ जिल्लाकै सबै भन्दा बढी उत्पादनशिल भुमी तथा क्षेत्र रहेको होलु जिउलामा ग्रामिण कृषि सडक निर्माण गर्नुपर्ने अध्यक्ष विश्वकर्माले बताए । उक्त ठाउँमा ग्रामिण कृषि सडक निर्माण गर्नका लागि नगरपालिकाले बजेट व्यवस्था गर्नुपर्ने अध्यक्ष बिश्वकर्माको भनाई रहेको छ ।समान्ता टोल बिकास संस्थाले घोरेटोबाटो निर्माण गरेजस्तै थाप्लेमा रहेको प्रगति टोल बिकास संस्था र पिपलडाँडामा रहेको टोल बिकास संस्थाले श्रमदानबाट खानेपानी पाईपलाइन व्यवस्थापन गरेका छन् ।

भेरी नगरपालिकाका सबै वडाहरुमा बस्तिस्तरका महत्वपूर्ण कामहरु बिना बजेट टोल बिकास संस्थामार्फत श्रमदानबाट निर्माण गर्ने गरिएको छ । भेरी नगरपालिकाका १३ वटै वडाहरुमा गत साउन महिना देखि ‘सामुदायिक सुशासन, सबलिकरणका लागि टोल बिकास संस्था परिचालन’ कार्यक्रम संचालन भएको छ । नगरपालिकाको आर्थिक सहयोग र सहकर्मी समाजको समन्वयमा नगरपालिकाको वडा नम्बर १,२,३,४ र १३ मा ‘सामुदायिक सुशासन, सबलिकरणका लागि टोल बिकास संस्था परिचालन’ कार्यक्रम संचालन भएको छ भने, बाँकी अन्य वडाहरुमा सहकर्मी समाजको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम संचालन भएको सामुदायिक प्रशिक्षक सविता शाह स्.िहले बताईन् । कार्यक्रमले टोल बिकास संस्थामा नगरपालिका भित्रका सबै नागरिकहरुलाई समावेश गर्नुको साथै टोल भित्रका सवाल पहिचान गर्ने काम गर्ने प्रशिक्षक शाह सिंहको भनाई रहेको छ । वडा नम्बर ३ मा कार्यक्षेत्र भएकी प्रशिक्षक शाह सिंहले ३ नम्बर वडामा मात्र १० वटा टोल बिकास संस्थाहरु रहेको बताईन् । २५ देखि ५० घरधुरीलाई समेटेर एउटा टोल बिकास संस्था गठन गर्नुको साथै परिचालन गर्ने गरिएको उनले बताईन् ।