सुर्खेतमा कर्फ्यु, २० प्रहरी घाइते

टिपर र चालक प्रहरी नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार ६:३० देखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरेको कर्णाली प्रदेशका डीआईजी पुर्णचन्द्र जोशीले जानकारी दिए । वीरेन्द्रनगरमा मंगलबार बिहान एउटा टिपरको ठक्करबाट २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो । सिंहको मृत्युपछि आक्रोशित स्थानीयले शव उठाउन दिएका थिएनन् ।

तर, प्रहरीले शव उठाएपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको थियो ।  झडपालाई साम्य पार्न प्रहरीले अस्रु ग्यास र हवाई फायर गरेको थियो । झडपमा २० जना प्रहरी घाइते भएको र केही स्थानीय पनि घाइते भएको डीआईजी जोशीले जानकारी दिए । स्थानीयतर्फ कति घाइते भए भन्‍ने यकिन तथ्यांक आइनसकेको उनले बताए । टिपर र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।