जाजरकोटका सवै स्थानिय तह जेठ सम्म पुर्ण खोपयुक्त

हाल सम्म ५६ जिल्ला पुर्णखोपयुक्त घोषणा भैसकेका छन्

आगामी जेठ भित्र जाजरकोटका सवै पालिकालाई पुर्णखोपको सुनिश्चितता गरि पूर्णखोप युक्त पालिका घोषणा गरिने भएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको विहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाका सवै वडाहरु पुर्ण खोपयुक्त घोषणा भैसकेका छन् । जेठ मसान्त भित्र नगर तथा गाँउपालिकालाई पुर्णखोप युक्त घोषणा गरेर असार भित्र जाजरकोटलाई पुर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्यव समितिका संयोजक मनबहादुर रावलले बताए । हाल सम्म ५६ जिल्ला पुर्णखोपयुक्त घोषणा भैसकेका छन् । रोगको दरमा कमी ल्याउने, अपाङ्गता हटाउने र बालमृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ सरकारले निशुल्क खोप दिने ब्यवस्था मिलाएको हो ।

१५ महिना मुनीका बालबालिका र गर्भवति महिलालाई विभिन्न ११ प्रकारका सरुवा रोग विरुद्ध खोप लगाउने गरिएको छ । जाजरकोटका २ सय ३० खोप केन्द्रबाट खोप लगाउने ब्यवस्था मिलाईएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए । पूर्णखोप युक्त पालिका घोषणा गर्न १५ महिना मुनीका सवै बालबालिकाले खोप लगाएको हुनु पर्ने र कोही छुटेको भए २३ महिना भित्र खोप लगाएर पुर्णखोपको सुनिश्चितता भएपछि मात्र पूर्णखोपयुक्त पालिका, जिल्ला घोषणा गर्न मिल्ने प्राबधान रहेको निमित्त प्रमुख जैसीले बताए । कार्यालयका अनुसार जाजरकोटमा एक बर्ष मुनीका चार हजार ६६ बालबालिका र चार हजार सात सय ९५ गर्भबति महिला रहेका छन् । सवैको साथ र सहयोग रहे निर्धारित समयमा नै पुर्णखोपयुक्त पालिका घोषणा गरि जिल्लालाई नै पुर्णखोपयुक्त घोषणा गर्न सकिने जिल्ला समन्वय प्रमुख रावलको भनाई छ ।

राष्ट्रिय जनसंख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार २८ दिन भित्र प्रति हजारमा बालमृत्युदर २८, एक बर्ष भित्र प्रतिहजार ३२ र ५ बर्ष भित्र बालमृत्युदर ३९ प्रतिहजार रहेको छ । जाजरकोट जिल्लाको तथ्यांक नभएपनि राष्ट्रिय तथ्यांकको दोब्बर हुन सक्ने अनुमान गरिएको छ । नेपालमा ७८ प्रतिशत बालबालिकाले सवै खोप लगाएको, २१ प्रतिशतले पुर्णखोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको तथ्यांक छ । भौगोलिक विकटता, जनचेतनाको कमी, स्वास्थ्यकर्मीको अभाव लगायतका समस्या पुर्णखोप सुनिश्चितताका चुनौतिको रुपमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा हेलचक्रयाई गर्न नहुने बताए । उनले खोप लगाउने बेला महिला स्वयमसेविकाहरु मार्फत सवैलाई खवर गर्नु पर्ने धारणा राखे ।