राज्यको नजरमा किन पुग्दैन साइक्वारी

बर्षाै देखि ओझेलम पर्यटकिय स्थल

सधैँ गरीबीअशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोटमा पछिल्लो समयमा परिचय बदलिन थालेको छ । जिल्लाको बारेकोट गाउँपालिका ४ काे पाटनमा रहेको साइक्वारीस्थित दर्जन बढि ताल, धार्मिक मठ मन्दिर, तीर्थस्थल, तलैया र हिमाल अनि जडीबुटीको भण्डारकै कारण जिल्लाको परिचयसमेत बदलिन थालेको छ ।


कतै कलकल बग्ने सानाठूला खोला, झरणा त कतै टलक्क चाँदी जस्तै टल्किने हिमशृङ्खला, कतै चिसो र मन्द हावा अनि विभिन्न जातका बुकी तथा झुलिरहेका वनस्पतिको दृश्य अनि पाटनभरि फुलिरहेका प्याउली फूलले सजाएको क्षेत्र हो साइक्वारी । सदरमुकाम खलङ्गादेखि खारा सम्माको गाडी यात्रापछिको दुई दिनको पैदल यात्रापछि पुगिने सुन्दर साइक्वारी क्षेत्र राज्यका निकायको नजरमाभने अहिले सम्म परेको छैन ।


विश्वमै दुर्लभ जन्तु रेडपाण्डा, पक्षीहरुमा चिरकालिज, डाँफे र मुनालको वासस्थानले सिङ्गारिएको बारेकोटको साइक्वारी क्षेत्र सुन्दरमात्र होइन, जाजरकोटको समृद्धिको आधार पनि हो । भौगोलिक विकटता अनि दुर्गम बस्तीको सिरानीमा समुद्र सतहबाट तीन हजार ५०० मिटरको उचाइमा रहेको बारेकोटको सुन्दर धार्मिक पर्यटकीय क्षेत्र साइक्वारी प्राकृतिक सुन्दरताको उत्कृष्ट नमूना पनि हो । यति मात्रै हैन यहाको विकासका लागि अध्ययन र अनुसन्धानको क्रममा रहेको फलाम खानि, विभिन्न प्रजातिका बहुमुल्य जडिबुटिहरु पनि मुख्य आर्थिक स्रोतको रुपमा रहेका छन ।


स्वर्ग कस्तो होला भनेर सोधिने प्रश्नका लागि एउटा उत्तर पनि हो बारेकोटको साइक्वारी अनि वरिपरिको सुन्दर भूगोल । कहाँ मान्छेको मन आनन्दित हुन्न र ? कहाँ मन नाच्छ कहाँ मन रमाउँछ यिनै सवाल र प्रश्नको वस्तुगत उत्तर दिन्छ बारेकोटको साइक्वारी क्षेत्रको सुन्दरताले ।
बारेकोट गाउँपालिका–४ को भूगोलमा पर्ने साइक्वारी क्षेत्रलाई प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र जैविक विशिष्टताका कारण स्वर्ग नामले परिभाषित गर्दा पनि फरक नपर्ने स्थानीय वुद्धिजीवी भीम बहादुर सिंहले बताउनुभयो । जलवायु परिवर्तनको असर भएको बेला पनि सुरक्षित जैविक विविधता रहेको बारेकोटको साइक्वारी आसपासका क्षेत्र सुन्दर र स्वस्थ्य पनि रहेको सिंहले बताउनुभयो ।

धर्मयुगमा भगवान् शिवजीले मृतावस्थाकी सत्यदेवीको देह बोकेर संसार घुमाउने क्रममा उहाँको कुनै एउटा अङ्ग पतन भएको र संसार यात्राको क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान साइक्वारी हो भन्ने किम्वदन्ती रहेको छ ।

बारेकोट गाउँपालिका ५ का मानबहादुर सिंहले उति बेला यो साइक्वारीमा शिव भगवान् बास बसेको र सत्यदेवीको अङ्ग पनि पतन भएकोबारे आफूले बूढापाकाबाट सानैमा सुनेको बताए । उनले बारेकोटलगायत विभिन्न क्षेत्रका सर्वसाधारणले साइक्वारी क्षेत्रलाई काशीको अर्को रुपमा मान्ने गरेको बताए ।

जाजरकोट, डोल्पा, सल्यान, रुकुम जुम्लालगायत कर्णाली प्रदेशका सर्वसाधारणले साइक्वारी मन्दिर र ताललाई भारतको काशी क्षेत्रको अर्को रुपको रुपमा हेर्ने गरेको सिंहको भनाइ छ । प्राकृतिक एवं भौगोलिक सुन्दरताको उत्कृष्ट नमूनाका रुपमा रहेको नीला अनि मनोरम दृश्य भएका शङ्खे दह, कुकुर दह, सँुगुर दह र ठाकुरजी दह मात्र होइन यहाँका ताल र पाटनबाट देखिने रुकुमको सिस्ने हिमाल, डोल्पाको कान्जीरुवा हिमाल, जाजरकोटको पाँच हजार ४ सय १२ मिटर अग्लो कराइचुली हिमाल अनि मनमोहक कुशे हिमालको सुन्दरता कुनै शब्दमा बयान हुनै नसक्ने छ ।


यस्तै साइक्वारी क्षेत्रका देउराली पाटन, द्वारे पाटन, च्याखुरे पाटन, कोटेकालिमुरी पाटन, खुम्बु पाटन र सजवन पाटनको हरियाली मात्र होइन ती पाटनमा लहराउँदै उड्ने डाँफे, मुनाल चिरकालीज अनि मात्तिदै उफ्रेर डुल्ने कस्तुरी, मृग, बाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डाको विशिष्ट संसारले त्यहाँ पुग्ने जो कोही पनि लोभिएर फर्किन्छन् । नेपालको अन्य कुनै पनि भूगोलमा नपाइने अनौठा गुण र रुप भएका चरा पनि यस क्षेत्रमा पाइने गरेका छन् ।

साइक्वारीको मन्दिरमा वर मागेर घर फर्किदा कसैलाई हेर्न नपाइने धार्मिक विश्वास पनि यहाँको अनौठो विशेषताको रुपमा रहेको छ । वर मागेर फर्किएको कुनै महिला या पुरुषले अरुलाई हेरे अशुभ मानिने स्थानीयमा धार्मिक विश्वास पनि उतिकै छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बारेकोट क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि केन्द्र र प्रदेश सरकारले कुनै योजना नदिएको गुनासो गर्नुभयो । साइक्वारी क्षेत्र बारेकोटकै सुन्दर पर्यटकीय क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको शाहले बताए ।