नलगाडको लहँमा अन्तर मावि स्तरीय दोस्रो नगरप्रमुख रनिङ्ग शिल्डको तयारी पुरा

नलगाड नगरपालिका–४ लहँ स्थित भानुभक्त माध्यामिक विद्यालयमा अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । भानुभक्त माध्यामिक विद्यालयमा आयोजित अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिता यहि फागुन १२ गते देखि १४ गतेसम्म संचालन हुने भएको हो ।

“नलगाड नगरपालिकाको पहिचान–शिक्षा, स्वास्थ्य र खेलकुदको अभियान ।” भन्ने मुल नारा सहित आयोजित अन्तर मावि स्तरीय दोस्रो नगरप्रमुख रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना भानुभक्त माध्यामिक विद्यालय, नलगाड–४ लहँले संचालन गर्न लागेको विद्यालय प्रअ गणेश रावलले जानकारी दिए । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिता–२०७६ को भव्य तयारी भई रहेको प्रअ रावलले जानकारी दिए ।

दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगितामा छात्रा÷छात्रको भलिबल, छात्रा/छात्रको सय मिटर दौड, छात्रा/छात्रको ८ सय मिटर दौड, छात्रा/छात्रको १५ सय मिटर दौड, छात्रा/छात्रको ४ वाई सय रिले दौड, छात्रा/छात्रको लङ्ग जम्प, छात्रा/छात्रको त्रिपल जम्प, छात्रा/छात्रको सटफुट, छात्रा/छात्रको ज्याप्लिङ्ग थ्रो र छात्रा/छात्रको हाई जम्प गरेर झण्डै १० वटा विद्याका खेलहरुको प्रतियोगिता गराउने तयारी भई रहेको प्रअ रावलको भनाई रहेको छ ।

उक्त अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्डमा आयोजित विभिन्न प्रतियोगिताहरुमा नलगाड नगरपालिका भित्रका १० वटा माध्यामिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिने तयारी भई रहेको नलगाड नगरपालिकाको सामाजिक विकास खाशा अन्तरगतको शिक्षा तथा खेलकुद विकास शाखाले जनाएको छ । अन्तर मावि स्तरीय दोस्रो नगर प्रमुख रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन भव्य समारोहको बिच नगर प्रमुख टेकबहादुर रावलले गर्ने तयारी भईरहेको प्रअ रावलले जानकारी दिएका छन् । अन्तर मावि स्तरीय प्रथम नगरप्रमुख रनिङ्ग शिल्ड गतबर्ष नलगाड नगरपालिकाको दल्लीमा आयोजना गरिएको थियो ।