‘दर्शक होइन, राम्रा चलचित्र हराए’

काठमाडौं । चलचित्रकर्मीहरूले राम्रा चलचित्र ‘हराएको’ बताएका छन् । नेपाली चलचित्र हेर्ने दर्शक ‘हराए’ भन्ने टिप्पणी भइरहेका बेला चलचित्रकर्मीहरूले दर्शक होइन राम्रा चलचित्र हराएको बताएका हुन् ।  “धेरैपछि दर्शक हलमा आए, अत्यन्त खुसीको कुरा हो, दर्शक हराएका रहेनछन्,” कलाकार दीपकराज गिरी भन्छन्, “अब आएका दर्शक टिकाउने कि भड्काउने त्यो हाम्रै हातमा छ ।” कलाकार दीपकराजले शुक्रबारबाट हलमा प्रदर्शनरत चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हेर्न उल्लेख्य संख्यामा दर्शक हलसम्म आएपछि यस्तो बताएका हुन् ।

राम्रा चलचित्र बनाउन सके दर्शकसम्म आउने उनी बताउँछन् । अधिकांश नेपाली चलचित्रले दर्शकलाई टर्चर दिने उनको दाबी छ । “बलिउडमा ९० प्रतिशत चलचित्र कम्तीमा हेर्न सकिने हुन्छन् । तर हाम्रोमा ९० प्रतिशत चलचित्र पूरै हेर्न सकिँदैन,” दीपकराज भन्छन्, “अनि हामी नेपाली चलचित्र चलेनन् भन्छौं । कम्तिमा हेर्न सकिने राम्रा चलचित्र बनाऔं, दर्शक नेपाली चलचित्र हेर्न आउनु हुन्छ । दर्शक टिकाउने कि भड्काउने हाम्रै हातमा छ ।”

निर्माता तथा चलचित्र वितरक नरेन्द्र महर्जन दर्शक ‘होल्ड’ गर्न कठिन भएको बताउँछन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढाउन विषयप्रधान चलचित्र आवश्यक रहेकोमा उनको जोड छ ।  “राम्रो चलचित्र भए चल्छ, नेपाली वा हिन्दी जुन भए पनि फरक पर्दैन । निरन्तर राम्रा चलचित्र नआउँदा वितृष्णा पक्कै भएकै हो,” नरेन्द्र भन्छन्, “राम्रा मेकरको आगमन भएन । राम्रा मेकरका चलचित्रले दर्शकलाई होल्ड गराउन नसक्नु पनि अर्को मुख्य कारण हो ।”

मनोरञ्जनका साधन धेरै भएका कारण पनि हलमा दर्शकको उपस्थिति कम हुन थालेको उनको भनाइ छ । हलको विकल्पमा युट्युब, नेटफ्लिक्स जस्ता प्लेटफर्म आउँदा दर्शकको संख्या कम भएको हो । सिरिज पनि फिचर फिल्मको विकल्पका रूपमा देखिएको नरेन्द्र बताउँछन् ।  कलाकार खगेन्द्र लामिछानेले हराए भनेर दर्शकलाई दोष दिन नहुने बताए । दर्शक नहराएको भन्दै राम्रा चलचित्र बन्दा हलमा आइरहेको उनी बताउँछन् ।

“संसारका कुनै पनि देशमा हरेक साता चलचित्रमा मारामार दर्शक आउँदैनन्,” निर्देशक तथा लेखकसमेत रहेका खगेन्द्र भन्छन्, “आफूलाई मन पर्ने चलचित्र दर्शकले लिस्टमा राखेका हुन्छन् । र त्यो चलचित्र आउँदा हेर्न जान्छन् ।” दर्शक आएका बेला चलचित्रले वितृष्णा भने जगाउन नहुने उनको भनाइ छ । कम्तिमा महिना÷डेढ महिनामा राम्रा चलचित्र आए नेपाली चलचित्र पनि रोजाइमा पर्ने खगेन्द्र बताउँछन् ।

नेपालमा बक्स अफिस कलेक्सनको रेकर्ड पनि नेपाली चलचित्रकै नाममा रहेको भन्दै उनी भन्छन्, “बिजनेसका हिसाबले पनि रेकर्ड नेपाली चलचित्रकै नाममा छ । यसको अर्थ नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ भन्ने हो ।”

नायिका सुरक्षा पन्त योपटक आफूले हलमा नयाँ दर्शक देखेको बताउँछिन् । ‘आमा’ हेर्न चलचित्र घरमा नयाँ दर्शक आएको उनको भनाइ छ । “८० वर्ष नाघेका आमाहरू पनि यो चलचित्र हेर्न आएको पाएँ । फरक–फरक उमेर र रुचि भएका दर्शक हुनुहुँदोरहेछ, उहाँहरूलाई लक्षित गरेर हामीले चलचित्र बनाउन नसकेको मात्रै रहेछ,” सुरक्षा भन्छिन्, “एउटा क्लासको दर्शक हुनुुहुँदोरहेछ, जो २०/२२ वर्षदेखि हल आउन छाड्नु भएको, उहाँहरू आमा हेर्न आउनुभयो ।” नेपाली चलचित्रमा दर्शक छैनन् भन्नुभन्दा पनि उहाँहरूलाई संबोधन गरेर बनाउन नसकिएको भन्ने अनुभुत भएको उनी बताउँछिन् ।

विषयप्रधान चलचित्र बनाएको अवस्थामा दशर्कले चलचित्र मन पराउने चलचित्रकर्मीहरूको भनाइ छ । पछिल्लो समय बलिउडमा समेत सस्तो मनोरञ्जन र स्टारडमभन्दा विषयप्रधान चलचित्रले बजार लिँदै आएका छन् ।