कोरोना प्रकोप : कर्णाली सरकारले ५ ठाउँमा हेल्थ डेस्क राख्‍ने

छेडागाड नगरपालिकाको केन्द्र साविक कार्की गाउँबाट चंखिला सार्न सिफारिस

सुर्खेतः कर्णाली प्रदेश सरकारले कोरोना भाइरस प्रतिकार्य योजनाअन्तर्गत प्रदेशभित्रका ५ वटा नाकामा आवश्यक बजेट र जनशक्तिसहित हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मन्त्री विमला केसीले पत्रकार सम्मेलन गरेर जानकारी दिइन ।

 

प्रवक्ता केसीले हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा डेस्क राख्ने निर्णय गरेको बताइन् । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो । ‘मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम नगर्ने र कालो बजारी गर्नेलाई कडाइपूर्वक कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ,’ उनले भनिन्, ‘उत्तरी नाकालाई विशेष ढंगले कडाइ गरिनेछ ।’

सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तावित गरेको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र पनि स्वीकृत गरेको छ । यसका साथै कारागार भवन निर्माणको लागि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी प्रदान गर्ने र गोदामघर निर्माणको लागि नेपाल सरकारसँग स्रोत माग गर्ने निर्णयसमेत गरेको मन्त्री केसीले जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकले जाजरकोटको छेडागाड नगरपालिकाको केन्द्र साविक कार्की गाउँबाट चंखिला सार्ने र डोल्पाको मुड्केचुला गाउँपालिकाको केन्द्र साविक वडा नं. ४ को इलनिल दहबाट परिवर्तन गरी वडा नं. ६ को तल्लो नर्कुमा कायम गर्नको लागि नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । साथै जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ५ को तलाखेत र बाजागाड तलाखेतमध्ये एक स्थानमा तोक्न माग भए पनि उक्त अधिकार गाउँपालिकाको भएको भन्दै स्थानीय सरकार सञ्चालन ऐनबमोजिम गर्न गाउँपालिकामै फिर्ता पठाएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाको केन्द्र साविक छाँयाक्षेत्र गाविस भवन रहेको स्थानबाट हालको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ र ५ को बीचमा पर्ने तारुपरेमा सार्न र नाम छत्रेश्वरीबाट परिवर्तन गरी पाथिभरा कायम गर्न माग गरिएको निर्णय पनि स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिकाबाटै गर्ने गरी फिर्ता पठाइएको मन्त्री केसीले जानकारी दिइन् ।