बाटोबाटै फर्किए जन्ती

सल्यान — रोल्पाको गंगादेव गाउँपालिकाका १९ वर्षीय युवकले दार्मा गाउँपालिकाकी २० वर्षीया युवतीसँग दुई महिनाअघि बिहे गरे । आफन्त र छिमेकीलाई भोजसमेत खुवाए । दुई महिनापछि छोरी–ज्वाइँ भित्र्याउन भन्दै माइती पक्षले जन्तीसहित उनीहरूलाई रोल्पाबाट दार्मा बोलायो । माइती पक्षबाट समेत भोज र सामाजिक संस्कारका लागि आफन्त तथा छरछिमेकलाई निम्ता भइसकेको थियो । केटा पक्षलाई ४० जन्ती ल्याउन माइती पक्षले आग्रह गरेको थियो ।

जन्तीकै लागि केटा पक्षले रोल्पाबाट दार्माका लागि गाडी बुकिङ गर्‍यो । बागचौर नगरपालिकाको कोटमौला–पातीहाल्ना हुँदै बागचौरबाट दुलहा–दुलहीसहित आउँदै गरेको गाडीलाई बांगेलाकुरी प्रहरीले एक्कासि रोक्यो ।

केटाको उमेर २० वर्ष नपुगेको भन्दै प्रहरीले जन्तीलाई बीच बाटोबाटै रोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । ‘घरतर्फबाट आएको जन्ती टोलीलाई घर फर्काइएको छ,’ उनले भने, ‘वर–वधूलाई अभिभावकको जिम्मामा छोडेका छौं ।’ २० वर्ष नपुग्दै गरिने विवाह गैरकानुनी हुने उनको भनाइ छ । केटाको उमेर २० वर्ष पुग्न तीन महिना बाँकी रहेको उनले जानकारी दिए ।

जिल्ला प्रहरीले एक वर्षदेखि बाल विवाहविरुद्धको अभियान जारी राखेको छ । उमेर पुगेपछि कानुनी रूपमा विवाह गराउन अभिभावक मञ्जुर भएपछि दुवैलाई परिवारको जिम्मा लगाइएको हो । ‘विवाह गरेको जोडीलाई माइतीले भित्र्याउँदै गरेको फेला पारेको भए कानुनी कारबाही हुने थियो,’ उनले भने, ‘प्रहरी सावधानीका कारण दुवै पक्ष दण्डित हुनबाट बचे ।’

कानुनअनुसार बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । यसअघि सल्यान प्रहरीले बालविवाह गराएको र गरेको आरोपमा २० जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । गत वर्षसम्म जिल्लामा ६९ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ ।

घरायसी वातावरण, परम्परागत सस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको प्रहरी निरीक्षक ओलीले बताए । ‘स्थानीय तहसँग सहकार्य गरी बालविवाहबिरुद्ध गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिएको छ,’ उनले भने, ‘संलग्नलाई कारबाही, गाउँगाउँमा स्टिकर टास्ने र घरदैलो गरेर कानुनी व्यवस्थाबारे जानकारी दिने अभियान सुरु गरेपछि बालविवाहका घटनामा कमी आएको छ ।’