धनगढीमा जाँच्दा रूकुम पश्चिमका दुई जनामा देखियो कोरोना

फेरि जाँच्न स्वाब काठमाडौं पठाइयो

धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा  कोरोना भाइरस पोजेटिभ देखिएको छ। प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए।

‘सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं, तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको छ,’ खड्काले सेतोपाटीसँग भने।

धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका  थिए। डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टिनमा बसेका छन्। नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २/२ जना संक्रमितको उपचार भइरहेको छ।