जाजरकोट प्रहरीले गर्यो अफिम खेती नष्ट

जाजरकोटमा नेपाल प्रहरीले एक रोपनी जग्गामा खेती गरिएको अफिम खेती नष्ट गरेको छ । अबैद्य लागु औषध अन्तरगत पर्ने अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

कुशे गाउँपालिका–८ नयाँबस्ती स्थित नारायण थापा र शेरबहादुर खड्काले झण्डै एक रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । प्रहरी चौकी पैंकमा कार्यरत प्रहरी सहायक निरिक्षक मायालाल वुढाको कमाण्डिङ्गमा गएका चार जना प्रहरी जवान सहितको टोलीले उक्त अफिम खेती नष्ट गरेको प्रहरी कार्यालय, जाजरकोटको भनाई रहेको छ । थापा र खड्काले अफिम खेती गरेको जग्गा ऐलानी रहेको पनि प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले यतिवेला देशलाई बन्दाबन्दी (लकडाउन) गराई रहेको मौका छोपी विभिन्न लागु औषधको ओसार–पसार तथा दुव्र्यसनी जस्ता कार्य हुनसक्ने बताउदै प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले विभिन्न चोरी, शिकारी र तस्करी तर्फ पनि प्रहरीले ध्यान दिई रहेको बताए ।

दुलर्भ वन्यजन्तुहरुको अबैद्य तरिकाले शिकार गर्ने, पासा हाल्ने, अबैद्य लागु औषधको उत्पादन तथा व्यपार गर्नसक्ने चोरीशिकारी र तस्करहरु प्रति प्रहरीले ध्यान दिदै आएको छ जिल्ला प्रहरी प्रमुख श्रेष्ठको भनाई रहेको छ ।