उपाध्यक्षमाथि कार्यपालिका बैठकमै हातपात

जुम्लाः हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायमाथि प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले कार्यपालिका बैठकमै हातपात गरेका छन् ।  वैशाख १२ गतेको कार्यपालिका बैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता र अलपत्र परेका स्थानीयलाई उद्धार गर्ने विषयमा छलफल चलिरहेको बेला उपाध्यक्ष रोकायामाथि हातपात भएको हो ।

कार्यपालिका बैठकमा उपाध्यक्ष रोकायाले आफ्नो धारणा राख्ने क्रममा प्रशासकीय अधिकृत बुढाले अपशब्द बोल्दै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी छन् । प्रहरीका अनुसार घटनापछि प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन छन् । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चनले बताए । उनका अनुसार यस्तो प्रकृतिको मुद्दाको हदम्याद ३ महिनाको हुन्छ ।