कुशे गाउँपालिकामा आरडीटी जाँच गरेका सबैको रिपोर्ट नेगेटिभ

जाजरकोट । कुशे गाउँपालिकामा आज आरडीटी जाँच गरेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिर जिल्लाबाट गएका १२ जनाको आरडीटी जाँच गरेको र सबैको रिपोर्ट नेगेटिभ देखिएको ल्याब असिस्टेन्ट कमला रावलले जानकारी दिइन ।

कुशे गाउँपालिकाले नेपालगन्ज काठमाण्डौबाट गएकाहरुलाई खाना बस्नको पुर्ण व्यस्थापन सहित पाँचकाटिया क्वारेन्टाइनमा १४ दिन बसालेर आज आरडीटी जाँच गरेको हो । गाउँपालिका भर हालसम्म बाहिर विभिन्न जिल्लाबाट गएका मान्छेहरु क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

तर जिल्ला जनस्वाथ्य कार्यालयलाई कीट उपलब्ध गर्न अनुरोध गरिरहेको भए पनि अझै कीट अभाव रहेको जानकारी पाएको अध्यक्ष बस्नेतले बताए । जिल्ला जनस्वास्थ्यले कीट उपलब्ध गराउन नसक्ने भए गाउँपालिका आफैले खरिद गरेर ल्याउन पहल गर्ने बताउदै खरिद गर्न अनुमति दिन आग्रह गर्ने अध्यक्ष बस्नेतले बताए ।

साथै राहतको लागि तथ्यांक सङ्कलन सकिने बित्तिकै बिपन्न र लकडाउनको कारण मजदुरी गरि खानेहरुलाई अनुभूति हुने गरि राहत बितरण गरिने उनले बताए ।