कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’

पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो ।

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो ।

दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ ।

कर्णालीमा एकै पटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलो पटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए । कोरोना निको भएपछि उनी फर्किसकेका छन् ।

समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ ।

आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण देखियो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो ।

उनका बुबा भारतबाट आएर क्वारेन्टिनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबु आमाको पनि कोरोना परीक्षण गर्‍यो । परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सक क्वारेन्टिन व्यवस्थित गर्न नसक्दा कोरोना समुदायस्तरमा पुगिसकेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टिनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टिनको व्यावहारिक प्रयोग नहुनु जस्ता कारणले सङ्क्रमण दोस्रो–तेस्रो चरणमा पुगेको हो ।

भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन गर्‍यो । जसले गर्दा रोजगारीका क्रममा ठूलो संख्यामा त्यहाँ रहेका कर्णालीवासी विभिन्न नाका हुँदै फर्किन थाले ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीवासी भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेको संख्या बढेसँगै समुदायस्तरमा पनि सङ्क्रमितको संख्या बढ्दैछ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । जसले गर्दा कोरोना भुसको आगोझैं फैलिन सक्ने स्थानीयको चिन्ता छ ।

‘केही समयअघि क्वारेन्टिनमा सीमित कोरोना सङ्क्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत अछुतो रहेनन्’, प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण सापकोटाले भने, ‘विशेष गरी प्रदेश सरकार र स्थानीय तहले समयमै कोरोना समुदायमा फैलिन नदिन विभिन्न उपाय अपनाउनु पर्छ, अझै लापर्वाही गर्ने हो भने अवस्था भयावह हुने सम्भावना देखिएको छ ।’

प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । उनले भने, ‘कोरोना भाइरस समुदायमा पुगेकाले थप जोखिम निम्तिएको छ, अहिले समुदायमा सङ्क्रमण शुरुआती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।’

कर्णालीमा हालसम्म आशंकितबाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । सङ्क्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने खतरा देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक ट्रेसिङ’ गर्ने काम भइरहेको बताए । उनका अनुसार हालसम्म समुदायमा सङ्क्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण छन् ।

जुम्लामा चार तथा जाजरकोटमा एक जना गरी पाँच प्रहरीमा सङ्क्रमण पुष्टि भइसकेको छ । कर्णालीमा कोरोना सङ्क्रमण दोस्रो र तेस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा त्रास छाएको छ । प्रदेशमा बुधबारसम्म एक हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५६० जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।