पत्रकार खड्काको सुरक्षाको माग गर्दै महासंघले निकाल्यो बिज्ञप्ती

सञ्चारकर्मीमाथि दुरव्यवहार तथा आक्रमणको प्रयास गर्नेलाई कारबाहीको माग

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा जाजरकोटले शुक्रबार  विज्ञप्ती जारी गरेको छ । भेरी नगरपालिका–७ का दिपेन्द्र शाही (डि.एन) र उनका भाई शुशिल शाहीले पत्रकार रेशम खड्कालाई दुरव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ, जाजरकोटले बिज्ञप्ती जारी गरेको हो ।

समाचारको बिषयलाई लिएर शाहीका दाजुभाईले पत्रकार रेशम खड्कालाई समाचार लेख्न आउदैन, तिमीलाई कुनैपनि वेला जे पनि हुन सक्छ भनेर धम्की दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । द्वय शाहीले पत्रकार खडका सवार मोटरसाईकलको साँचो खोस्नुको साथै आक्रमणको प्रयास समेत गरिएको घटना प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । समाचारको बिषयमा चित्त नबुझे कानुनी उपचारको बाटो अबलम्बन गर्नुको साट्टा सञ्चारकर्मीमाथि दुरव्यवहार तथा आक्रमणको प्रयास निन्दनीय कार्य भएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ, जाजरकोटले पत्रकार खड्काको सुरक्षामा ध्यान दिनुको साथै आक्रमणको प्रयास गर्नेलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।