भीरबाट खसेर एक को मृत्यु, १ घाइते

जाजरकोटको कुशे गाउपालिका ६, भार्मभीरबाट लडेर बुधबार १ को मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
भार्मभीरबाट लडेर कुशे ४, ताँगाचौरका ५४ बर्षीय सार्की दमाईको मृत्यु भएको छ भने सोही ठाउका ४५ बर्षीय नैने दमाई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते नैनेको कोहलपुर मेडिकलकलेजमा उपचार भैरहेको छ । घाइते नैनेलाई बुधबार नै सिम्रीक एयरको हेलिकप्टरद्वारा उद्धार गरेर उपचारका लागि कोहलपुर पुर्याएको कुशे गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए ।

गाउपालिकाको ३ लाख ५० हजार खर्चेर नैनेको उपचारका लागि हेलिकप्टरद्वारा उद्धार गरेको अध्यक्ष बस्नेतले वताए । घर फर्कने क्रममा सार्की र नैने एकैसाथ भार्मभीरबाट १ सय मीटर तल खसेको उनले वताए । भीरबाट एकै ठाउमा खसेका दुई जनामा १ जनाको ज्यान गएको उनले वताए । मदिरा सेवन गरेर लठठ् परेका उनीहरु एक्कासी उक्त भीरबाट खसेको उनी वताउछन् ।
प्रमुख जिल्ला अधिकारी जनक राज पन्तलाई घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको पहल गरीदिन भनेर फोन मार्फत भन्दा प्रजिअ पन्तले संभावना छैन भनेर खबर गरेपछि गाउपालिकाको राहात तथा उद्धार कोषबाट घाईतेको उद्धार गरेको उनले वताए । कुशेले यस अघि पनि उक्त कोषको रकमबाट १ सुत्केरीको हेलिकप्टरद्वारा उद्धार गरेको थियो । कुशे गाउपालिकाले राहात तथा उद्धार कोषबाट गत आर्थिक बर्ष १ सुत्केरी सहित २ जनाको हेलिकप्टरद्वारा उद्धार गरेको छ भने जटील प्रकृतिका विभिन्न रोगबाट ग्रसित अति विपन्न विरामीको उपचारका लागि १५ लाख खर्च गरेको छ ।