पत्रकार कि पत्रुकार ?

यी पत्रकार हुन कि पत्रुकार ? यिनलाई के भन्ने? कस्ता खालका पत्रकार हुन ? बाहिर शिर्षक एउटा छ, भित्र खोलेर हेर्दा अर्कै समाचार हुन्छ । नहेर्नेलाई हेरौहेरौ लाग्ने, कौतुहलता जगाउने, अझै भनौ भने, हेर्न बाध्य पार्ने शिर्षक दिने अनि दिग्भ्रमित पार्ने । के के  न होला जस्तो गरेर अनेक काम थाँति राखेर हेर्यो, अन्तिममा निरास पार्छन् । सत्य, तथ्य केहि हुन्न तै पनि झुक्याउन सफल हुन्छन् । कयौ युटुयुव च्यानल त हेर्न छोडी सके, कुनै राम्रा पनि हुने हुँदा नहेरी मन मान्दैन, हेर्यो फेरी दिक्कै लाग्छ । हैन यिनिहरुलाई कारवाही हुँदैन की क्या हो ? कानुन छैन की, भएर पनि वेवास्ता गरिएको हो ? पत्रकारहरुका आधिकारीक संघ, संस्था के गरेर बसेका होलान ?

एकाविहानै दुध लिन, चोकमा रहेको पसलमा पुग्दा, मोबाइलमा युटुयुवमा प्रसारित सामाग्रीको विषयमा गरिएको चर्चा परिचर्चाको अंश हो, माथिको अभिब्यक्ति । यतिमा कहाँ रोकियो र ? न कुनै महत्वपूर्ण विषय छ, न त प्रस्तुत गर्ने शैलि नै छ । हातमा माइक बोक्यो, बेस्सरी चिच्चायो, के के न भए जस्तो । हेर्दै गएको सामान्य घरझगडा रहेछ । यिनै पत्रकाररुपी पत्रुकारका एक हुल जम्मा भएर उचालपछार गर्दै रहेछन घरझगडा । एउटा क्यामेरा र माइक भए केहि पनि नचाहिने रहेछ यिनलाई । कुनै मान्छे मरेको ठाउँमा पुगेर छोरा मर्दा कस्तो लाग्यो भनेर पनि सोध्छन् बा… . अब त्यो मृतकका बा आमाले के जवाफ दिने ? कस्तो लाग्यो भन्ने ? मानविय संवेदना पनि नबुझ्ने यस्ता पनि पत्रकार हुन्छन ल भन्नु त । अर्का सहभागि थप्छन । मोबाइल मात्रै भएका पनि अगाडी सरेर अपराधीलाई पुलीसले केरकार गरे जस्तै अन्टा सन्टा सोधेर हैरान पार्छन् । जे पायो त्यहि खिच्यो युटुवमा हाले पछि पैसो आउछ रे क्या,… त्यहि भएर गर्या होलान नि के कुरा गर्ने यस्ताको ? होइन भोलि हाम्रै घरको सामान्य विवाद फेला पारे भने पनि घरवार विगार्छन् यिनले, विकृति बढीनै भएको छ, तर हामीले के गर्न सक्छौ र खै यस्ता पत्रुकारलाई ?

मन्त्रमुग्द्ध सुनेकी म, झसंङग् भए । दुध लिएर हतारहतार घर फर्किए । म युटुयुवमा प्रसारित सामाग्री भन्दा पनि यि शब्दहरु सुनेर झस्कीए । चर्चा परिचर्चामा सुनेको शब्द पत्रकार की पत्रुकार ? मलाई साह्रै चित्त दुख्यो । नदुखोस् पनि किन ? आखिर पत्रकार बनेर गाउँ समाज अनि देशलाई मार्गदर्शकको भूमिका निर्वाह गर्न चाहने म । त्यसैले पत्रकारितामा स्नातक गरेर पत्रकारितामा प्रवेश गर्न तम्सीएकी म । अर्कोतर्फ पत्रकारलाई समाजको असल बर्ग ठान्दै पत्रकारकी श्रीमती बनेकी म । मलाई ठूलै चोट पुग्यो विहानै दुध डेरी नजिकैको चिया पसलमा चिया पिउँदै समाजसेवी टोल सुधारका अग्रजहरुको त्यो संवाद, अनि चर्चा परिचर्चाले ।

घर पुग्ने वित्तिकै हतारहतार चिया बनाँए, चियासंगै घोत्लिएँ । अनि युटुयुवमा भाइरल भएका विषयबस्तु र भैरहेका चर्चातर्फ सोच्न थाले । के जुन चर्चा परिचर्चा मैले सुने शत प्रतिशत सहि हो त ?

पत्रकार बन्न क्या सजिलो छ है ? क्यामेरा नभए मोवाइल नै बोक्यो एउटा माइक भए पुग्यो,  पत्रकार हामी राज्यको चौथौ अंग भन्यो फुर्ति लगायो हिँड्यो । यहि आवाज गुन्जियो दिमागमा फनफन घुमाए जस्तै भयो । आफ्नो पत्रकार बन्ने रहर औपचारिक रुपमा शुरु भएकै छैन । हो साच्चै नै केहि युटुयुवरहरुले पत्रकारिताको आधारभूत सिद्धान्त सत्य, तथ्य, निश्पक्ष र विश्वसनिय हुनुपर्छ भन्ने सामान्य ज्ञान विनै जथाभावि सामाग्री प्रस्तुत गरेकाले समग्र पत्रकार र पत्रकारिताप्रतिको दृष्टीकोणमा आएको परिवर्तन हो यो ।

नेपालमा २०३३ साल देखी नै औपचारिक पत्रकारिताको पढाइ शुरु भएपनि पत्रकारिता गर्न पढनु पर्दैन जस्तो गरिएको छ । अन्य क्षेत्रमा जस्तो यसमा त्यस्तो अनिवार्य गरिएको छैन । सरकारी आमसञ्चार माध्यममा जनशक्ति आवश्यकता सम्बन्धि सूचना प्रकाशित गर्दा पनि कुनै पनि विषयमा स्नातक गरेको र ३ महिनाको तालिम प्राप्त गरेको भनेर निस्कन्छ अरुको के कुरा । जबकी बैंकमा जागीर खुल्दा व्यवस्थापन बिषय पढेको वा अर्थशास्त्र पढेका बाहेकले सहभागि हुन पाउदैनन् । वकिल बन्न कानुन पढ्नु पर्छ, शिक्षक बन्न शिक्षाशास्त्र अनिवार्य छ अनि राज्यको चौथो अंग, समाजप्रति जिम्मेवार, उत्तरदायी बन्नुपर्ने, सरकार र जनताको पुल, आवाज विहिनहरुको आवाज र अधिकांश समय राज्यका जिम्मेबारहरुलाई खवरदारी गर्दै मार्गदर्शक बन्ने अति नै संवेदनशील पेशा, पत्रकार बन्न पत्रकारिता नै पढेको हुनुपर्छ भनेर किन नभन्ने ?

जे होस् नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल तथा युटुयुवरहरुले हल्लाखल्ला मच्चाएका छन् । कसैलाई भगवान त कसैलाई अभिशाप भएको छ । कतिपयलाई सहयोग जुटाएको छ भने कतिपयको घरवार विगारेको छ । कतिपय सन्दर्भमा मुलधारका सञ्चारमाध्यमले स्थान नदिएका विषयबस्तु उजागर गरेको छ भने कतिपय मुद्द्धामा न्यायाधिश, पुलिस सबै बनेको छ जुन सरासर गलत छ । आधिकारीक श्रोत विना एक पक्षिय सूचना पस्किएर दिग्भ्रमित पारेको छ । यहि कारण पत्रकार की पत्रुकार भन्ने अवस्था बनेको छ । सानातिना, झिनामसिना कुरा खिच्यो, युटुयुवमा अपलोड गर्यो, हंगामा मच्चाउने शिर्षक दियो, कसैलाई दोषी करार गर्यो त कसैलाई चोख्यायो, के के मात्रै गर्दैन ? कसैलाई भगवानका रुपमा त कसैलाई राक्षसीकरण गर्न र प्रस्तुत गर्न उद्द्धत छन् ।

पत्रकारिताको आचारसंहिता विपरित केरकार जस्तै गरेर प्रश्न गर्ने, हुर्मत लिने, न पोशाक मर्यादित छ, न बसाई ब्यवस्थित छ, अभद्र, अशिष्ट पारामा प्रस्तुत हुनेहरुले पनि म पत्रकार भनिदिदा, जीवन नै पत्रकारितामा समर्पित पत्रकारलाई पत्रकार भन्न लाज लाग्ने अबस्था आएको छ ।

यसो भनिरहँदा, युटुवरले राम्रो कामनै गरेका छैनन् भन्ने पनि होइन । कतिपयले देशको कुन कन्दरामा लुकेका प्रतिभा प्रस्फुटन गराएका छन् । कतिपयले दुखी गरीवको उद्द्धार गरेका छन्, सहयोग जुटाएका छन् । समाजमा लुकेका वा लुकाउन खोजिएका विभिन्न घटना सार्वजनिक समेत गरेका छन् । यस्तो गर्ने न्युन संख्यामा छन, यस्ता युटुयुव भाइरल हुन्नन, हुन पनि चाहन्नन र छायाँमा छन् ।

अधिकांश युटुयुव च्यानलले पत्रकारिता र पत्रकारको धज्जी उडाएका छन्, खिल्ली उडाएका छन्, पत्रुकार बनाएका छन् । त्यसैले मुलधारका सञ्चार माध्यमले समाजमा भए गरेका यस्ता घटना तथा प्रतिभा प्रस्फुटन गर्नेतर्फ केन्द्रीत गर्नुपर्छ । जबसम्म मुलधारका राष्ट्रिय आमसञ्चार माध्ययमले सामाजिक मुद्द्धा र अपराधलाई निरन्तर अनुगमन गरेर समाचारको रुपमा स्थान दिदैनन् तबसम्म यस्तो भईनै रहन्छ ।

अन्त्यमा, सरकार र राज्य पक्षले पनि युटुयुव तथा सामाजिक सञ्जाललाई निश्चित मापदण्ड बनाएर, नियम कानुनको दायरामा ल्याउनुपर्छ । यसलाई व्यवस्थित गर्नै पर्छ, जुन धेरै ढिला भई सक्यो । यस्ता स्वरोजगार हुन चाहने, समाजमा सहि तरीकाले सूसुचित गराउन चाहनेहरुलाई दर्ता गर्ने, करको दायरामा ल्याउने, निगरानी गर्ने व्यवस्था गर्नैपर्छ । जबसम्म सरकारले यस्तो गर्दैन र गर्न सक्दैन, तबसम्म यिनीहरुले जनतालाई सूसुचित गर्नुको साँटो अतिरञ्जित सूचना पस्कीएर दिग्भ्रमित पारिरहने छन् । अनि यस्तै घोचपेच भइनै रहने छ, समाजमा । पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर जस्ता संगठनहरु पनि एकजुट भएर ब्यबस्थित र मर्यादित बनाउनेतर्फ नलागेसम्म र ब्यबस्थित नबनेसम्म समाजमा यो प्रश्न जीवित रहने छ । समाजले सोध्ने छ तपाई पत्रकार कि पत्रुकार ?

साभारःhttps://hamrakura.com/news-details/84256/2020-08-08