नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ – नेकपाले सोमबार सचिवालय बैठक बोलाएको छ । पार्टीमा जारी विवाद हल गर्नका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । त्यसैअनुसार सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले बताए । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्नेछ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । उनीहरुले शनिबार पनि अध्यक्ष पुष्‍पकमल दाहाललाई भेटेर सचिवालय माग गरेका थिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए । यद्यपि पार्टीभित्रको शक्ति सन्तुलनअनुसार कार्यदल बनेको छ । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री केपी ओलि निकट, शर्मा र भुसाल दाहाल निकट तथा पाण्डे र रावल नेपाल निकट मानिन्छन् । कार्यदलको पहिलो बैठक शनिबार बसेको थियो ।