महिलावादी सोचले दवीएका पुरुष हिंसाहरु

सत्य शास्वत हुन्छ, सत्य स्थीर हुन्छ, सत्य अपरिवर्तनशील हुन्छ भनेर हामी धेरैले पढ्दै अनि सुन्दै आएका हौला तर मेरो विचारमा सो कुरा गलत हो ।समय, काल र युग अनुसार सत्य परिवर्तन हुन्छ । सत्य सामाजिक चाल- चलन, ज्ञान, विज्ञान र प्रविधि आदिमा आएको परिवर्तन सँग-सँगै परिवर्तन हुन्छ । निकोलस कपर्निकसले सुर्यकेन्द्रित सिद्धान्त पत्ता नलगाउनु भन्दा पहिले सुर्यले  पृथ्वीलाइ परिक्रमा गर्दछ भन्ने कुरालाइ मानिसहरुले सत्य मान्दथे तर जव कपर्निकसले पृथ्वी र अन्य गह्रहरुले सुर्यको परिक्रमा गर्ने कुरालाइ तथ्य र सिद्धान्तद्वारा प्रमाणित गरे तव देखि पृथ्वीले सुर्यलाई परिक्रमा गर्दछ भन्ने कुरालाई मानिसहरुले सत्य मान्दै आएका छन ।

जुन हाल सम्म पनि कायमै छ । तर सधै भरी यही नै हुनेछ, यही नै अकाट्य सत्य हो भनेर भन्न सकिदैन किन भने पछी गएर अझै स्तरीय सिद्धान्तहरु पनि प्रतिपादित नहोलान भन्न सकिदैन । माथि चर्चा गरिए जस्तै प्राचिन कालबाट नै महिलाहरु पिडित, दमित र शोषित हुन्छन भन्ने कुरालाई सत्य मानिदै आएको छ तर सधै भरी यही नै कुरा सत्य सावित अवश्य पनि हुदैन । समाजमा मानिसहरुको ज्ञानमा आएको परिवर्तन, चाल-चलन, विज्ञान र प्रविधिले पनि महिलाहरुलाइ धेरै अगाडि पुर्‍याइ सकेको छ । तर पनि हरेक विषय र विवादमा महिला नै पिडित हुन्छन, महिला भएकै कारणले दवाइएको हो भनी नजरअन्दाज गर्ने परिपाटिले गर्दा कति निर्दोष पुरुषहरु पनि पुरुष हिंसाको सिकार भएका छन । महिला अधिकारवादी धारणा र सोही अनुरुप बनेका महिलालाई बलियो बनाउने कानुनका कारण कति निर्दोष पुरुषहरु पनि अदालतबाट दोषि र महिलाबामट पिडित भएको म आफै अदालतमा काम गर्दा देखेको अनि बुझेको छु ।

 

यसको अर्थ मैले सबै महिलाले पुरुषहरुलाई पिडित बनाएका छन भन्न पक्कै पनि खोजेको होइन । त्यसै गरी 21 औ शताब्दी अनि ज्ञान विज्ञानको युगमा महिला हिंसा रोकीयो, महिला र पुरुष विच रहेको विभेदको अन्त्य भयो भन्न अवश्य पनि खोजेको होइन । यति मात्र स्पष्ट पार्न खोजेको हो की ज्ञान, विज्ञान, प्रविधि र समय सँग-सँगै समाजमा आएको परिवर्तनले महिलालाई हेर्ने सोच र दृष्टीकोणमा ब्यापक परिवर्तन आइसकेको छ । अतः अझै पनि महिला र पुरुष विच हुने मत भेद, मन मुटावलाई अन्य कारण नै नखोजी जवरजस्ती लैङ्गिक हिंसा र महिला हिंसाकै उपमा दिदा अलि नाइन्साफ हुन्छ की भन्ने मात्र लागेको हो । हाल सम्म स्थापित नजिर र कानुनी व्यवस्थाले सम्वन्ध विच्छेद गर्न कानुनीरुपले नै महिलालाई वढि सुविधा दिएको पाइन्छ सोही कानुनी व्यवस्था र कानुनमा रहेको loop hole को दुरुपयोग गरी आपराधिक प्रवृति भएका महिलाहरुले पुरुष हिंसा गरिरहेका छन तर कानुनी निर्वलता र महिलाबादी सोचले हिंसा र पिडा सहन बाध्य हुन परेको छ पुरुषहरुलाइ । विशेष गरि आफ्नो ज्यानको प्रवाह नगरी परिवारको खुशीको लागि विदेशमा पैसा कमाउन गएका पुरुषहरुको पसिनाको कमाइ अन्य परपुरुषसँग अनैतिक सम्वन्ध गासेर मोज मस्तीमा उडाउने र पतिसँग सहजै सम्वन्ध विच्छेद गरी उन्मुक्ती पाउने अश्त्रको रुपमा मुलुकी देवानी संहिता, 2074 को सम्वन्ध विच्छेद सम्वन्धी व्यवस्थाको गलत प्रयोग भएको प्रशस्तै उदाहरणहरु छन । जसले पुरुषलाइ निकै विवश, लाचार र पिडित वनाएको छ ।

वि.स. 2075 साल भाद्र 1 गते देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता, 2074 को करणी सम्वन्धी कसुरमा जवरजस्ती करणीलाइ परिभाषित गरिएको छ जसमा ” कसैले कुनै महिलालाइ निजको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरि लिएर भए पनि अठार वर्ष भन्दा कम उमेरको कुनै वालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जवरजस्ती करणी गरेको मानिन्छ” भनि परिभाषित गरिएको छ । जसमा महिलाले पुरुषलाई जवरजस्ती करणी गर्ने कुराको बारेमा उल्लेख नै छैन । के महिलाले पुरुषलाइ जवरजस्ती करणी गर्दै गर्दैनन त? के महिलाले पुरुषलाई जवरजस्ती करणी गर्नै सक्दैनन त? भन्ने जस्ता सवालहरु नउठ्ने होइनन तर हाम्रो कानुनले महिलाले पुरुषको जवरजस्ती करणी गर्दछन भन्ने कुरालाइ स्विकार गरेको छैन । जसले पक्कै पनि महिलालाई यौन हिंसा र जवरजस्ती करणी हुनबाट वचाउन सफल भएको छ । तर आपराधिक प्रवृति भएका महिलाहरुले सहमतिमा सम्वन्ध राख्ने  र पछि ज.क. मुद्दा समेत दायर गरी अदालतमा hostile भइ प्रतिवादीसँग रकम लिने गरेको समेत पाइन्छ भने कतिपय अवस्थामा महिला र पुरुष विचको सामान्य झै-झगडा र रिसको कारणलाइ लिएर वदला लिने मनसायले मात्रै पनि महिलाले ज.क. जस्तो जघन्य फौजदारी कसुरको अभियोग सम्म दायर गर्ने गरेको पाइन्छ । अदालतले पनि विभिन्न नजिर र महिलामैत्रि कानुनको आधारमा पुरुषलाइ नै दोषी देखाउने भएकाले पनि पुरुषहरुले ज.क.नगरेको भए पनि अन्य कारणले पनि ज.क जस्तो जघन्य कसुरको सजायको भागिदार हुनु परेको हामीले देखेका र सुनेका छौ । अतः पुरुषहरुलाई विभेद गर्ने यस्ता महिलामैत्री कानुनका कारण पनि पुरुष हिंसाहरु दविएका छन ।

 

विश्वमानै महिलाहरु शासनसत्ताको मुख्य पदहरुमा आसिन  भइसकेको अवस्था छ । नेपालमा पनि राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीश जस्ता महत्वपुर्ण पदहरुमा आसिन भएको हाम्रै अगाडि प्रष्ट छ । यति हुँदा-हुँदै पनि महिला र पुरुषविचको सामाजिक असमानता  हटेको देखिदैन अझै पनि जोडतोडका साथा महिला अधिकारका सवालहरु, महिला शसक्तीकरणका कुराहरु, महिला हिंसाको अन्त्य आदिको आवाजहरु उठिरहेका छन । जवसम्म यस्ता आवाजहरु उठिरहन्छन तवसम्म महिलाले गर्ने पुरुष हिंसाहरु समाजमा दविएर विलिन हुन बाध्य हुन्छन । त्यस्तै गरी जव सम्म यस्ता महिलामैत्री विभेदकारी कानुनी व्यवस्था, पुरातनबादी सामाजिक र सांस्कृतिक मान्यताहरु समाजमा रहन्छन तव सम्म यस्ता कैयौ पुरुष हिंसाहरु समाजमा दविने निश्चित छ । यस्ता दविएका पुरुष हिंसाहरुको अन्त्य गर्न क्रमिकरुपमा लैङ्गिक समानता कायम गर्दै विभेदकारी कानुनलाइ संसोधन गर्दै न्यायिक सक्रियतालाई सक्रिय वनाउनु पर्ने देखिन्छ ।