३० हजार ६ सय ७७ कोरोना संक्रमित निको भए

काठमाडौँ — नेपालमा हालसम्म ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ६५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३० हजार नाघेको हो । यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या ४ हजार ७ सय ३९ जना छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या हजार ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा बताएका छन् । हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ७ लाख ७७ हजार ५ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म मुलुकभर १७१ जना बिरामी आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको प्राडा गौतमले बताए । त्यसैगरी मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।