बाइडेनलाई विश्‍वका प्रमुख नेताको बधाई,

केही ट्रम्पको हारमा खुसी

काठमाडौँ — डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वका विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुले बधाई दिएका छन् । विश्व राजनीतिक मञ्‍चमा अमेरिकी गठबन्धनमा रहेका बेलायत, फ्रान्स, जर्मनी, युरोपेली युनियन र युक्रेनलगायतका मुलुक तथा संगठनले राष्ट्रपतिमा निर्वाचिन जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेन र ह्यारिसलाई बधाई दिँदै आगामी अमेरिकी सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । शनिबार एक वक्तव्य जारी गर्दै ट्रुडोले भनेका छन्, ‘हाम्रो साझा भूगोल, समान चाहना, गहिरो सम्बन्ध तथा बलियो आर्थिक सम्बन्धले हामीलाई घनिष्ठ मित्र तथा साझेदार मुलुक बनाएको छ ।’

त्यस्तै जर्मन चान्सलर एन्जेला मर्केलले पनि बाइडेन र ह्यारिसलाई बधाई दिँदै आगामी दिनमा अहिले देखिएका साझा चुनौतीलाई सामना गर्न मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले कमला ह्यारिसलाई अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित भएकोमा पनि बधाई दिँदै सफलताको कामना गरेकी छिन् ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले ट्विटरमा लेखेका छन्, ‘अमेरिकी नागरिकले आफ्नो राष्ट्रपति चुनेका छन् । जो बाइडेन र कमला ह्यारिसलाई बधाई छ । अहिले चुनौतीबाट पार पाउन हामीले धेरै काम गर्नुछ । सहकार्य गरेर अघि बढौं ।’ म्याक्रोंले सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणमा दुई देशबीचको सम्बन्धमा अझ सुधार ल्याउन प्रयत्न गरेका थिए । पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौता र इरानको आणविक हतियारसम्बन्धी विषयमा दुई देशबीच सहमति हुन सकेको थिएन ।

त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेन र ह्यारिसलाई बधाई दिँदै आगामी दिनमा रणनीतिक साझेदारी गर्दै अगाडि बढ्नेमा आफू आशावादी रहेको बताएका छन् । सुरक्षा, व्यापार, लगानी प्रजातन्त्र र भ्रष्टाचारविरुद्धको लडाईंमा सधैँ सहकार्य गरेको उल्लेख गर्दै उनले दुई देशबीचको मित्रता अझ प्रगाढ हुने बताएका छन् ।

त्यस्तै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भनेका छन्, ‘जो बाइडेन हाम्रो गठबन्धनको समर्थक हो भन्ने मलाई थाहा छ । उहाँसग सहकार्य गरेर अघि बढ्न चाहन्छौं । उत्तर अमेरिका र युरोपका लागि एउटा बलियो नेटो हुनु राम्रो कुरा हो ।’

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीले बाइडेन प्रशासनसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई छ । अमेरिकी नागरिकलाई शुभकामना छ । दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्यको अपेक्षा राख्दछु ।’ सन् २०१७ मा खाडी मुलुकहरुबीच तनाव बढेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको समर्थन गरेका थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि जो बाइडेन र कमला ह्यारिसलाई बधाइ दिँदै जलवायु परिवर्तन, व्यापार, सुरक्षाका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले अमेरिकी चुनावको नतिजा आउनुपूर्व नै जो निर्वाचित भए पनि उस्तै सम्बन्ध कायम गर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडेन र ह्यारिस दुवैलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहकार्य गर्ने बताएका छन् । बाइडेन उपराष्ट्रपति रहँदा दुई देशबीचको सम्बन्ध सुधारका लागि खेलेको भूमिका पनि उल्लेखनीय रहेको मोदीले बताएका छन् । त्यस्तै मोदीले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई छुट्टै बधाई दिँदै उनी उपराष्ट्रपतिमा निर्वाचित हुन भारतीय मूलका अमेरिकी नागरिकका साथै सम्पूर्ण भारतीयका लागि पनि गर्वको कुरा भएको उल्लेख गरेका छन् ।

त्यस्तै कुनै बेला ट्रम्पलाई ‘मलाई मन पर्ने तानाशाह’ को संज्ञा दिएका इजिप्टका राष्ट्रपति अब्देल फतेह एल सिसीले पनि बाइडेन र ह्यारिसलाई बधाई दिएका छन् । ट्रम्प प्रशासनले इजिप्टमाथि लगाइएको अमेरिकी सैन्य सहयोगमाथिको प्रतिबन्ध हटाएको थियो ।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले पनि कमला ह्यारिसलाई प्रभावशाली र ऐतिहासिक जितका लागि बधाई दिएका छन् । साथै नेपाल-अमेरिका सम्बन्ध अझ मजबुत बनाउनका लागि सहकार्य गर्ने पनि ओलीले बताएका छन् ।

विश्वका धेरै देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखले बाइडेनलाई जितका लागि बधाई दिइरहँदा केहीले भने राष्ट्रपति ट्रम्पको हारमा खुसी व्यक्त गरेका छन् ।

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले अब ‘तीन वर्षदेखि इरानप्रति गरेको गलत व्यवहार सच्याउनुपर्ने’ बताएका छन् । रुहानीले आफ्नो प्रतिक्रियामा सन् २०१५ मा इरान र विश्वका प्रमुख शक्तिबीच भएको आणविक सम्झौताको पूर्ण पालना हुनपर्ने बताएका छन् । सन् २०१८ मा ट्रम्प प्रशासन उक्त सम्झौताबाट एकतर्फी रुपमा अलग हुँदै इरानमाथि चरणबद्ध रुपमा प्रतिबन्ध लगाउन पुगेको थियो ।

प्यालेस्टाइनका केही नेताहरुले पनि राष्ट्रपति ट्रम्पको हारले राहत मिलेको बताएका छन् । प्यालेस्टाइनकी नेता हनान अस्रावीले ट्विटरमा लेखेकी छन्, ‘अमेरिकाले ट्रम्पबाट छुटकारा पाएको छ । विश्व पनि श्वास लिन सक्ने हुनुपर्छ। अमेरिका र बाहिर मानव, नैतिक र कानुनी सन्तुलन कायम गर्नका लागि होसियारीपूर्वक ट्रम्पवादको सम्परीक्षण आवश्यक छ ।’

त्यस्तै लडाकु समूह हमासका राजनीतिक नेता इस्माइल हनियाले ट्रम्प प्रशासनलाई प्यालेस्टाइनमाथिको कब्जालाई समर्थन गर्ने कट्टरपन्थीको संज्ञा दिँदै आगामी सरकारले प्यालेस्टाइनको अस्तित्वलाई स्वीकार गर्ने आशा व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्पले इजरायली नेता बेन्यामिन नेतान्याहुलाई समर्थन गर्दै आएका छन् । उनले जेरुसेलममा अमेरिकी राजदूतावास खोलेर इजरायलको राजधानी जेरुसेलम हो भन्ने कुराको वैधता दिन खोजेको पनि प्यालेस्टाइनको आरोप छ । जेरुसेलमलाई प्यालेस्टाइनले आफ्नो भूमि मान्दै आएको छ र भविष्यको राजधानी बताउँदै आएको छ ।

ट्रम्पका निकट मानिएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने अहिलेसम्म अमेरिकी चुनावी नतिजाका बारेमा प्रतिक्रिया दिएका छैनन् । त्यस्तै मेक्सिकोका राष्ट्रपति आन्द्रेज मानुएल लोपेज ओब्राडोरले अहिले नै बाइडेनलाई बधाई दिनु हतार हुने बताएका छन् । उनले राष्ट्रपति चुनावको नतिजाको कानुनी पाटोको समाधान भएपछि मात्रै विजेतालाई बधाई दिनु उपयुक्त हुने बताएका छन् ।