बेंसी सारिए भेडीगोठ

चिसो निकै बढेर आहारा अभाव हुन थालेपछि भेडीगोठहरु बेंसीतर्फ

लमजुङ/गोरखा — सेतै फुलेका कपाल, दाँत झरेर थोता भएका गिजा । खैरो कमिज र मैलिएको सेतो कछाड । उमेरले ६ दशक कटे पनि लमजुङको मर्स्याङ्दी गाउँपालिकाका टेकजंग गुरुङ ५ सय भेडा एक्लै चराउँछन् ।

लमजुङको मर्स्याङ्दी–२ घनपोखराको फुल्बु च्होमा झारिएको भेडीगोठ । चिसो बढ्न थालेपछि लेकबाट बेंसी झर्ने भेडीगोठ वैशाखमा पुनः उकालो लाग्छ। तस्बिर : आश गुरुङ

भेडापालन उनको पुर्ख्यौली पेसा हो, जसलाई धान्दै उनी ६ महिना हिमालको फेदीतिर त ६ महिना गाउँबस्ती वरपर रहन्छन् । जाडो उकालो लाग्दै गएपछि अहिले उनको गोठ ओरालो झरेर मर्स्याङ्दी–२ फुल्बु च्हो डाँडामा आइपुगेको छ ।

 

हिउँदमा हिमाली फेदको चरन क्षेत्र हिउँले छोप्ने भएकाले भेडालाई खान दिने केही हुँदैन । भेडालाई खुवाउने सुर्ताले उनी कहिले लेक त कहिले बेंसी गर्छन् । ‘साउनमा लमजुङ र मनाङ सीमा क्षेत्रमा हुन्छौं । भदौ १५/१६ देखि बिस्तारै गोठ बेंसी झार्न सुरु हुन्छ । मंसिर आधाआधीमा बेंसी खेत पुग्ने हो,’ उनले भने, ‘खेतीपाती लगाउन सुरु भएपछि चैत १५/१६ तिर लेकतिर लाग्ने हो । अनि पहिलेकै ठाउँमा पुगेर गोठ बस्छ ।’

क्व्होलासोंथर गाउँपालिका–३ घलेगाउँका केशमान गुरुङ, टेकबहादुर न्यौपाने र बबिध्वज गुरुङले पनि गोठ गाउँ नजिकै ल्याएका छन् । ‘चिसोमा राख्दा भेडाबाख्रा बिरामी हुन्छन्, अहिले लेकमा घाँस पनि हुँदैन,’ केशमानले भने, ‘पछि गर्मी हुँदा लेकमा हावापानी राम्रो हुने भएकाले भेडाबाख्रालाई सहज हुन्छ ।’ भदौ अन्तिमसम्म लमजुङ हिमालको काख ठूललेकमा रहेका भेडीगोठ चिसो बढ्न थालेपछि यसै साता मात्रै उनले गाउँ नजिकै सारेका हुन् ।

मर्स्याङ्दी–५ घेर्मुका कर्म गुरुङले पुस, माघ र फागुनमा लेकमा गोठ राख्न नसकिने बताए । हिउँ पर्ने र अत्यधिक चिसोले भेडाबाख्रा मात्रै होइन, मानिससमेत बस्न नसक्ने अवस्था हुन्छ । उनका अनुसार वर्षायाममा मनाङको सिमाना डोना ताल क्षेत्रसम्म गोठ पुग्छ । लेकमा चिसो हुन थालेपछि मनाङका भेडीगोठ पनि लमजुङमा ल्याइन्छ । नासों गाउँपालिका–४ ओडारका बेनबहादुर गुरुङले भेडीगोठ बिस्तारै लमजुङतर्फ ल्याउने तयारी गरिएको बताए ।

लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, ताघ्रिङ, भुलभुले, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनीलगायतका ग्रामीण क्षेत्रका बासिन्दाले घुम्ती गोठमा भेडा पाल्दै आएका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. रूपेश श्रेष्ठका अनुसार मर्स्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोंथरका किसानले घुम्ती गोठमा भेडापालन गरेका छन् । यो उनीहरूको पुर्ख्यौली पेसा हो । करिब ४० भेडीगोठमा १६ हजार भेडा रहेको उनले अनुमान गरे । दर्ता नगरिएका घुम्तीगोठ भएकाले यकिन तथ्यांक भने छैन । भेडाले साह्रै चिसो र साह्रै गर्मी नसहने भएकाले हल्का चिसो भएको ठाउँ खोजेर राख्नुपर्ने उनले बताए ।

गोरखा बारपाककी सीता घले भेडाका बथान लिएर लेकबाट बेंसी झरिन् । झन्डै २ सय भेडा पालेकी उनी अबको ६ महिना बेंसीमै बिताउँछिन् । कात्तिक मध्यसम्म बारपाकस्थित पुचेकङमा ५ भेडीगोठ सरिसके, केही झर्दै छन् । जाडो छल्न घुम्ती गोठमा भेडापालन गर्दै आएकाहरू बेंसीका खर्क झर्न थालेका हुन् ।

बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, सिर्दिबासका खर्कहरूमा झन्डै २ सयभन्दा बढी भेडीगोठ छन् । अहिले बेंसी झारिएका गोठ वैशाख–जेठमा पुनः लेक उकालिन्छ । गर्मीयाममा चरिचरनका लागि तिब्बतको सीमा क्षेत्रसम्म भेडा पुर्‍याइन्छ । जाडो छल्न बेंसी झारिएका गोठ भने गोरखाको तल्लो क्षेत्र तथा लमजुङ सीमा क्षेत्रसम्म पुर्‍याइन्छ । ‘घुम्ती गोठ हो, घुम्दै हिँड्ने हो,’ घलेले भनिन्, ‘आम्दानी सन्तोषजनक भए पनि लेकबेंसी गरिरहनुपर्छ, भेडा पाल्न साह्रै दुःख छ ।’

एक दशकयता भेडापालनमा रमेका बारपाकका आशिराम घले लेकबेंसी गर्दा चरिचरनको समस्या नरहेको बताउँछन् । सासिङ, लन्जे, रुविनालालगायतका खर्कसम्म पुग्ने भेडीगोठ अहिले बेंसी झरेको उनले बताए । ‘हिमालको काखसम्मै भेडा डुलाउँदै पुग्छौं, समय मिलाएर खर्कमा घाँसको अवस्था अनुमान लगाउँदै तल–माथि गरिरहनुपर्छ,’ उनले भने ।

चरिचरनका लागि मंसिर अन्तिम सातातिर भने यहाँका भेडीगोठ बारपाकको तल्लाले क्षेत्र, थुमी, अप्रिलगायतका खर्कसम्म पुर्‍याइन्छ । ठाउँअनुसार भेडीगोठालाले आ–आफ्नै खर्कमा गोठ सार्ने प्रचलन छ । एउटा भेडा बिक्री गर्दा ७ देखि २५ हजार रुपैयाँसम्म कमाइ हुन्छ । पछिल्लो पुस्ताले भेडापालनमा चासो नदेखाएको आशिरामले गुनासो गरे । ‘मेरो पहिला गाईगोठ थियो, गाई टुटाएर भेडापालन सुरु गरेको छु,’ उनले भने, ‘गर्नसके आम्दानी राम्रो छ, तर आजकालका केटाकेटीले यो पेसामा मन लगाएनन् ।’ चरिचरनको समस्या नरहे पनि गोठको संख्या भने वर्षैपिच्छे घट्दै गएको उनले बताए ।

भेडीगोठालाहरूले भेडाको अलवा रौं बेचेर पनि आम्दानी गर्छन् । गोठ बेंसी झारेसँगै गोठालाहरू बिहान–बेलुकीको समयमा भेडाको रौं काट्न व्यस्त छन् । बख्खु, राडी, पाखी बनाउन भेडाको रौंको प्रयोग गरिन्छ । भेडा बेंसी झार्दा संकलन गरिएको रौंबाट फुर्सदको समयमा राडी, पाखी र बख्खु बनाउने बारपाककी कान्छी गुरुङले बताइन् ।कान्तिपुरबाट साभार