वामदेव गौतम विरूद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको छ।

महिनादिन अघि हेर्दाहेर्दै सारिएको वामदेव विरूद्धको मुद्दाको पेशी बुधवार तोकिएको हो।

प्रधानन्यायाधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन बस्छ।

वामदेव विरूद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरिरहेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी वामदेवलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो।

सोही आदेश अनुसार संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो।