सल्यानमा देउसीभैलो खेल्न रोक

सल्यान — कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेपछि प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी देउसीभैलो खेल्न रोक लगाएको हो । प्रशासनको निर्णय प्रहरीले गाउँगाउँमा माइकिङ गरी प्रवाह गरिरहेको छ ।

कोरोना संक्रमणका कारण जनजीवन प्रभावित भएपछि मेला, विभिन्न जमघट र देउसीभैलोमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । उनका अनुसार सार्वजनिक सूचनामार्फत अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन स्थानीयलाई आग्रह गरिएको छ ।

‘तिहारमा देउसीभैलो नखेल्दा अपराधका घटनामा पनि कमी आउने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘सतर्कताका साथ तिहार मनाउन जिल्लावासीलाई आग्रह गरेका छौं ।’कान्तिपुरबाट साभार