हुम्लाका ४ जनालाई कोरोना पुष्टि

कर्णाली प्रदेशको हुम्ला जिल्लामा ४ जनामा कोरोना पुष्टि भएको छ । कात्तिक १८ गतेदेखि कोरोना संक्रमण मुक्त भएको हुम्ला कोरोनाको लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

उक्त स्वाब संकलनमा चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो । उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी गराए ।  उनले भने पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभा लगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो । कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब सङ्कलन नगर्दा सङ्क्रमित नभेटिएको अगुवाले बताउने गरेका छन् । जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना सङ्क्रमण देखिएको थियो ।